भदौ २८ बाजुरा । बाजुराको सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो ।
फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा बडिमालिका नगरपालिका ९ बाजुरामा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो । एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ ।
फोरजीले प्रयोगकर्तालाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन भोल्टे, द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवा लिन सक्षम बनाउने दाबी गरिएको छ ।


