भदौ १५ धनगढी । कैलाली उद्योग बाणीज्य संघ कैलालीले कैलाली भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालय नहटाउन ज्ञापनपत्र बुझाएको छ । शुक्रवार कैलाली उद्योग वाणिज्य संघले टुरमुकाम कार्यालय बन्द नगर्न र जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
कैलाली भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारेन्टाइनको मोहना टुरमुकाम कार्यालय साउन २८ गतेदेखि बन्द रहेको छ । तीन वर्ष अगाडि प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय स्थापना गरिएको भए पनि कार्यालयमा कार्यरत कर्मचारी अध्ययन विदामा गएका बेला प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्र काठमाडौले टुरमुकाम कार्यालयमा कर्मचारी नपठाएर बन्द गर्न खोजेको छ ।
कैलाली भन्सार भएर भारतबाट आउने खाद्यान्न, फलफूल र तरकारीको विषादी र किराको परीक्षण गरेर निकासी र पैठारीको इजाजत दिने काम टुरमुकाम कार्यालयले गर्दै आएको थियो । अहिले कर्मचारी नहुँदा आयात–निर्यात ठप्प भएको छ । कैलाली उद्योग वाणिज्य संघले प्लान्ट क्वारेन्टाइन कार्यालय मोहना टुरमुकाम कार्यालय बन्द नगर्न सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले प्रमुख जिल्ला अधिकारी मार्फत समस्या समाधान गर्न आवश्यक समन्वय गर्ने जानकारी दिएका छन् ।



