असोज २३ कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले महाकाली नदीमाथिको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुङ्गे पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
शुक्रबार बिहान पुलको अनुगमन गर्दै नेता लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताउदै पुलको यथाशीघ्र पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका हुन ।
पुलको पुनर्निर्माणमा ढिलाइ नगर्न र भविष्यमा यस्ता संरचनाको नियमित मर्मतसम्भारको व्यवस्था गर्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । लेखकले महाकालीको झोलुङ्गे पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिंगो देशकै ऐतिहासिक सम्पदा भएको बताए ।
कुनै समय दोधारा चाँदनीका बासिन्दाले नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले पुल निर्माणले यस क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष रूपमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक सांसद निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा चाँदनीलाई देशका अन्य भूभागसँग जोड्नुपर्ने प्रस्ताव राखेको उनले स्मरण गरे ।
त्यसबेला कतिपयले यस्तो पुल निर्माण सम्भव नहुने भन्दै ठट्टासमेत गरेको उनले बताए । नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताको प्रयासबाट पुल निर्माण गर्न सफल भएको लेखकले बताए ।
पुल निर्माणले नेपालका अन्य स्थानमा पनि लामो दूरीका झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पु¥याएको उनले बताए । ऐतिहासिक तथा रणनीतिक महत्त्व बोकेको महाकालीको झोलुङ्गे पुलको पुनर्निर्माण र संरक्षणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।
पुलको नियमित मर्मतसम्भार र समयमै पुनर्निर्माण हुन सके स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै यस क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


