साउन २५ धनगढी । कैलालीको गोदावरी नगरपालिकामा बहुउद्देश्यीय खेलकुद रंगशाला निर्माण गर्न माग गरिएको छ । आइतबार पिएफए स्पोट्र्स क्लबले आयोजना गरेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पदाधिकारी तथा गोदावरी नगर क्षेत्रका पदक विजेता खेलाडीलाई सम्मान कार्यक्रममा सहभागीहरूले बहुउद्देश्यीय खेलकुद रंगशाला निर्माण गर्न माग गरेका हुन ।
प्रदेश खेलकुद परिषद्का पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गर्दै पिएफए स्पोट्र्स क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले गोदावरी क्षेत्रमा व्यवस्थित खेलकुद पूर्वाधार निर्माण आवश्यक रहेको बताउदै गोदावरीमा व्यवस्थित खेलकुद पूर्वाधार निर्माण गरिनुपर्ने माग गरेका हुन् ।
खेलाडीको प्रतिभा पहिचान देखि प्रशिक्षण र राष्ट्रियस्तरका प्रतियोगिता सम्मका लागि स्तरीय खेलमैदान तथा रंगशाला आवश्यक भएको बताउदै उनले ‘गोदावरी राजधानी घोषणा गरिएको नगर समेत भएकाले आधुनिक रंगशाला निर्माण गरिनु पर्ने बताए । राजधानी क्षेत्रमा खेलाडीले अभ्यास गर्ने व्यवस्थित मैदान नहुनु दुःखद् विषय भएको बताउदै उनले स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरेर गोदावरीमा रंगशाला निर्माण गर्नु पर्ने बताए ।
रंगशाला निर्माण भएपछि खेलाडीलाई नियमित प्रशिक्षण गर्नपाउने वातावरण बन्नुका साथै स्थानीयस्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने भट्टले बताए । खेलकुद केवल मनोरञ्जनको विषय मात्र नभई युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । खेलकुद पूर्वाधारमा गरिएको लगानीलाई खर्च नभई भविष्यका पुस्तामाथिको लगानीका रूपमा लिनुपर्ने उनले बताए ।
गोदावरीका खेलाडीले सीमित स्रोतसाधनका बाबजुद प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको उनले बताए । पिएफए स्पोट्र्स क्लबका वरिष्ठ सल्लाहकार डा. डम्बर पालले खेलकुद क्षेत्रमा फड्को मारिरहेको गोदावरीमा अझै पनि व्यवस्थित खेलकुद पूर्वाधारको अभाव रहेको बताए । रंगशाला निर्माण हुन नसक्दा स्थानीय खेलाडीले नियमित प्रशिक्षण तथा प्रतियोगिताका लागि पर्याप्त अवसर पाउन नसकेको उनले बताए ।
गोदावरीमा खेलकुद प्रति युवाको आकर्षण बढिरहेको चए पनि खेलाडीले अभ्यास गर्ने र प्रतियोगिता आयोजना गर्ने व्यवस्थित संरचनाको अभाव भएको उनले बताए । रंगशाला निर्माण भए विभिन्न विधाका खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउने उनले बताए । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरियामा व्यवस्थित रंगशाला निर्माणका लागि प्रदेश र संघीय सरकारसँग बजेट सुनिश्चित गर्न आग्रह गरेका छन् ।
उनले अत्तरियामा विभिन्न विधाका खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने व्यवस्थित रंगशालाको अभाव रहेको बताउदै स्थानीयस्तरमा खेलाडीको संख्या र खेलकुद प्रतिको आकर्षण बढ्दै गए पनि पर्याप्त पूर्वाधार नहुँदा खेलाडीले अपेक्षित अवसर पाउन नसकेको बताए । ‘अत्तरियामा व्यवस्थित रंगशाला आवश्यक भएको बताउदै उनले खेलाडीहरुको खेलप्रतिको आकर्षणलाई ख्याल गर्दै त्यसअनुसारको पूर्वाधार निर्माण गरिनु पर्ने बताए ।
नरप्रमुख भट्टले रंगशाला निर्माण भए अत्तरियामा नियमित प्रतियोगिता आयोजना गर्न सकिने बताउदै स्थानीय खेलाडीले समेत नियमित अभ्यास गर्ने अवसर पाउने बताए । रंगशाला निर्माण नगरपालिकाको मात्रै बजेट र स्रोतबाट सम्भव नहुने बताउदै उनले प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पदाधिकारी मार्फत प्रदेश तथा संघीय सरकारसँग आवश्यक बजेट सुनिश्चित गर्न उनले आग्रह गरेका छन । नगरप्रमुख भट्टले रंगशाला निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने र निर्माण प्रक्रियामा आवश्यक अन्य सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताए ।


