’साउन ०३ कञ्चनपुर । नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्राको थालनी गरेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बरं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ बाट जनसंवाद यात्राको थालनी गरेका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको बताए ।
जनसंवादको पहिलो दिन प्रतिनिधिसभा सदस्य बोहरा सहित रास्वपाका नेताहरूले शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ बन्साह र वडा नम्बरं १२ कालागौडी क्षेत्रका नागरिकसित भेटघाटका साथै संवाद गरेका छन् । “हामी जवाफदेही छौँ, मत माग्न आउँदा जनताले जितेर फर्किँदैनन् कि भन्दै आशङ्का गरेका थिए”उनले भने, “हामी अरु नेताजस्ता होइनौँ, हामी आउँछौँ ।
छ–छ महिनामा सार्वजनिक सुनुवाइ गर्ने पनि भनेका छौँ । जनता प्रति उत्तरदायी भएर काम गर्ने बताउँदै सांसद बोहराले नागरिकका गुनासा सुन्न हरेक वडास्तर सम्म जाने बताए । “वडा तहका कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधानका लागि सक्रिय रहने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले जनसंवाद निरन्तर अघि बढ्ने बताए । जनसंवाद यात्रा मार्फत स्थानीय समस्या र समाधानका विषयमा छलफल भइरहेको उनले बताए ।
जनसंवाद शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नम्बरं २ का क्षेत्रीय सभापति गणेश खड्का लगायत नेताहरुको सहभागीता रहेको थियो ।


