साउन ०२ धनगढी । कैलाली जिल्ला अदालतले एक वर्षमा तीन हजार १ सय ५ वटा मुद्दा फर्छयौट गरेको छ । अदालतले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार आर्थिक वर्षको सुरुवातमा १ हजार २ सय ५ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए भने वर्षभरी दर्ता भएका ३ हजार ३ सय ३४ वटा नयाँ मुद्दा मध्ये कैलाली जिल्ला अदालतले एक वर्षमा तीन हजार १ सय ५ वटा मुद्दा फर्छयौट गरेको हो । कुल मुद्धाको ६६.९३ प्रतिशत मुद्धा फर्छयौट भएका छन ।
त्यसैगरी कुल ४ हजार ५ सय ३९ वटा मुद्दा विचाराधीन रहेकोमा ३ हजार ५ वटा मुद्दा फछ्र्योट गरिएको छ । आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५ सय ३४ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार चेतराज पन्तले जानकारी गराएका छन । अदालतका अनुसार चालु आर्थिक वर्षका लागि वार्षिक फछ्र्योट लक्ष्य ३ हजार १ सय ५२ मुद्दा रहेको थियो ।
न्यायाधीशगत फछ्र्योट विवरण अनुसार माननीय भुवन सिंह थापाले ६ सय ९०, दिवेन्द्रनाथ योगीले ५ सय ६६, ठाकुरप्रसाद पौडेलले ७ सय १३, गोकुलबहादुर निरौलाले ७ सय ४२ र तीर्थराज भट्टाईले २ सय ६८ वटा मुद्दा फछ्र्योट गरेका छन् ।
त्यसैगरी आर्थिक वर्षमा सरुवा भएका न्यायाधीश मध्ये डम्बरपाणि लामिछानेले ३३, प्रदीपकुमार उपाध्यायले ७० र हरिसिंह धामीले ४ सय ४३ वटा मुद्दा फछ्र्योट गरेका थिए । अदालतका अनुसार दुई वर्ष नाघेका २२ वटा पुराना मुद्दा अझै विचाराधीन रहेका छन् ।
लक्ष्य अनुसार फछ्र्योट प्रतिशत ९७.५८ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ । यस आर्थिक वर्षमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा धेरै लागुऔषध सम्बन्धी ४ सय ४१, सम्बन्ध विच्छेदका ३ सय ७४, बैंकिङ कसुरका २ सय ३८, करणी सम्बन्धी १ सय २२ तथा अंश सम्बन्धी ५ सय १६ वटा मुद्दा रहेको अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी गराएका छन् ।


