साउन ०२ कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷८३ मा ६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे छ । अदालतले आर्थिक वर्ष २०८२÷८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै ६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट गरेकोे जानकारी गराएको हो ।
शुक्रबार सञ्चारकमीसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १ सय ८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको जानकारी गराखए । उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६ सय ८८ वटा मुद्दा र नयाँँ दर्ता भएका एक हजार ५ सय २० वटा मुद्दा गरी दुई हजार २ सय ८ वटा मुद्दा दर्ता गरिएको जानकारी गराए ।
यसमा एक हजार ४ सय ११ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५ सय २४ वटा मुद्दा फछ्र्यौट भएको उनले जानकारी गराए । ६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको जानकारी गराउदै उनले ६ सय ८४ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको बताए ।
मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार आएको बताउदै उनले जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ मध्ये पाँच करोड १३ लाख ५१ हजार ९ सय ७ रुपैयाँ असुल भएको जानकारी गराए ।
२५ करोड एक लाख ४५ हजार ४ सय ५ रुपैयाँ अझैँ सङ्कलन गर्न बाँकी रहेको उनले बताए । पछिल्लो समय मुद्दा दर्ताको सङ्ख्या बढी भएको बताउदै उनले स्रोत साधन नहुँदा समस्या भएको बताए । न्यायधीश भण्डारीले हाल दुई वटा ईजलास रहेको जानकारी गराउदै एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फछ्र्यौट हुने बताए ।
केही मुद्दाको प्रमाण समयमा नआउँदा फछ्र्यौटमा ढिलाइ हुने गरेको उनले बताए । अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाए पनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ ।


