चैत्र २९ कञ्चनपुर । देशभर एकैसाथ आगामी वैशाख २ गते देखि सञ्चालन हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ जना गणक र सात जना सुपरीवेक्षक गरी ६० जना परिचालन हुने भएका छन् । जिल्लाको आर्थिक अवस्था, उद्योग–व्यवसायको वास्तविक सङ्ख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्न आर्थिक गणना हुन लागेको हो ।
आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक गणना अधिकारी दानबहादुर ऐडीका अनुसार भीमदत्त नगरपालिकामा २० जना गणक परिचालन हुने छन् भने दोधारा चाँदनी नगरपालिकामा चार जना गणकलाई खटाउने तयारी गरिएको छ । बेदकोट नगरपालिका र शुक्लाफाँट नगरपालिमामा पाँच जनाका दरले गणकलाई खटाइने छन् भने कृष्णपुर नगरपालिकामा चार, लालझाडी गाउँपालिकामा दुई, बेलडाँडी गाउँपालिकामा दुई, बेलौरी नगरपालिकामा पाँच र पुर्नवास नगरपालिकामा छ जनालाई खटाइने भएको छ ।
आठ जना गणक बराबर एक जना सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था गरिएको अधिकारी ऐडीले जानकारी गराए । गणकहरू र सुपरीवेक्षक छनौटको कार्य पूरा भएको अधिकृत ऐडीले बताए । छनौट गरिएका गणक र सुपरीपेक्षकलाई गणना कसरी गर्ने, तथ्याङ्क कसरी सङ्कलन गर्ने, प्रश्नावली कसरी भर्ने तथा व्यवसायीहरूसँग कसरी समन्वय गर्ने भन्ने विषयमा आवश्यक तालिम दिने कार्य भइरहेको उनले बताए । जिल्लाका विभिन्न पालिकामा रहेका व्यापार–व्यवसायको सङ्ख्या र घनत्वका आधारमा गणक र सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
आर्थिक गणनाका क्रममा गणकहरूले पसल, उद्योग, संस्था, सेवा व्यवसाय तथा अन्य आर्थिक एकाइमा पुगेर विवरण सङ्कलन गर्ने बताइएको छ । मुख्य रूपमा व्यवसायमा गरिएको लगानी, रोजगारीको अवस्था, वार्षिक आम्दानी–खर्च, उत्पादन तथा सेवा प्रवाह, ऋण तथा बीमाको अवस्था लगायतका विवरण सङ्कलन गरिने बताईएको छ । हरेक पाँच वर्षमा गरिने यो गणना वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
हालसम्म जिल्लास्तरमा र पालिकास्तरमा आर्थिक गणनाबारे अन्तक्र्रिया तथा सचेतना गोष्ठी कार्यक्रम सम्पन्न भइसकेको अधिकारी ऐडीले जानकारी गराए । आर्थिक गणना भनेको सञ्चालनमा रहेका वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान तथा व्यवसाय (आर्थिक एकाइ)मा पुगेर तिनको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन तथा वितरण गर्ने समष्टिगत प्रक्रिया भएको उनले बताए । नेपालमा पहिलो आर्थिक गणना २०७५ मा सम्पन्न भएको थियो भने दोस्रो आर्थिक गणना आर्थिक बर्ष २०८२÷८३ मा सञ्चालन हुन लागेको हो ।
जिल्ला आर्थिक कार्यालयका गणक सन्तोषबहादुर सिंहले यस गणनाबाट प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गरिने बताए । साथै देशमा रहेका प्रतिष्ठानको सङ्ख्या, अर्थतन्त्रका क्षेत्रगत संरचना, आकार तथा वितरण सम्बन्धी तथ्याङ्क उत्पादन हुने उनले बताए । कुल गार्हस्थ्य उत्पादन (जिडीपी) तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई सुदृढ बनाउन आवश्यक आधारभूत तथ्याङ्क उत्पादन हुने उनले बताए ।
“आर्थिक सर्वेक्षणका लागि नमूना छनौट फ्रेम तयार गर्न पनि आर्थिक गणनाले महत्त्वपूर्ण भूमिका खेल्ने सिंहले बताए । तथ्याङ्कीय व्यावसायिक रजिस्टर निर्माण तथा अद्यावधिक गर्न पनि आर्थिक गणनाले आधार प्रदान गर्ने उनले बताए । आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसाय समेटिने उनले बताए । आर्थिक गणना स्थलगत रूपमा सञ्चालन गरिने बताउदै उनले गणक तथा सुपरीवेक्षकले व्यवसाय स्थलमै पुगेर तथ्याङ्क सङ्कलन गर्ने बताए ।
यस गणनामा मुख्य रूपमा दुई प्रकारका प्रश्नावली प्रयोग गरिन बताउदै उनले पहिलो सूचीकरण फाराम, जसमा सबै प्रतिष्ठान तथा व्यवसायको संक्षिप्त विवरण सङ्कलन गरिने बताए । दोस्रो मुख्य प्रश्नावली, जसमा सूचीकरण भइसकेका प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिने उनले बताए ।
मुख्य प्रश्नावलीका विवरण इ–सेन्सस प्रणाली मार्फत व्यवसायी आफैँले भर्न सक्ने व्यवस्था रहेको छ भने कागजी प्रश्नावली मार्फत गणकले पनि विवरण सङ्कलन गर्ने उनले बताए । जिल्ला आर्थिक गणना कार्यालय कञ्चनपुरले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई गणकहरू आफ्नो व्यवसाय स्थलमा आउँदा सही तथा तथ्यपरक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।

