चैत्र ०६ बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी उपलब्ध गराएका छन । बुढीनन्दा नगरपालिका वडा नम्बर ६, कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाइ धनगढीस्थित बसोबास स्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी निरौलार्ले नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन ।
रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका भाट बाजुरामा हिँडडुल गर्न असहज भएपछि कैलालीको धनगढीमा कोठा लिएर बस्दै आएका छन् । सन २०१८ सालमा भारतको मुम्बई स्थित बेलापुरमा काम गर्न जाने क्रममा रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए । सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो ।
नागरिकता हराएसँगै भाट लामो समय देखि राज्यबाट प्राप्त हुने आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुँदै आएका थिए । असक्तताका कारण प्रशासन सम्म गएर नागरिकता बनाउन कठिनाइ भएको उनले बताएका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरिएको बताए ।
राज्यको सेवा सबै नागरिक सम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यता अनुसार धनगढीमै पुगेर नागरिकताको प्रतिलिपी दिएको उनले बताए । खगिन्द्रका बुबा मदन बहादुर भाट वडाको सिफारिस सहित जिल्ला प्रशासन कार्यालय पुगेर छोराको अवस्थाबारे जानकारी गराएपछि प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै घरमै पुगेर प्रतिलिपी वितरण गरेको उनले बताए ।
राज्यको यस्तो पहलले सेवा प्रवाहलाई प्रभावकारी र समावेशी बनाएको बताईएको छ । दुर्गम बाजुराबाट ३ सय किलोमिटर टाढा धनगढी सम्म पुगेर सेवा दिनु प्रशासनको सक्रियता र संवेदनशीलताको उदाहरण भएको स्थानीयले बताएका छन् । सेवा लिन असमर्थ नागरिकका लागि राज्यको उपस्थिति अझ नजिकबाट अनुभूत गराएको स्थानीयले बताएका छन ।


