चैत्र ०२ बाजुरा । बाजुराको उच्च लेकाली भेगमा आईतबार रातिदेखि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन ।
गत माघ दोस्रो सातापछि अहिले बाजुरा जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भए पछि किसान खुसी भएका हुन । बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ ।
हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित भएका छन् । कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने बताए ।
त्यसैगरी डिभिजन वन कार्यालयले वन्जयजन्तु तथा जङ्गली जनावरको चोरी सिकारी नगर्न आग्रह गरेको छ । जङ्गली जनावरको चोरी सिकारी भएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताएका छन् ।


