फागुन २९ धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सहरी क्षेत्रमा बदर मतको संख्या बढी देखिएको छ । तुलनात्मक रूपमा विकसित मानिने तराईका जिल्ला कैलाली र कञ्चनपुरका सहरी क्षेत्रहरूमा पहाडी जिल्लाको तुलनामा बदर मतको संख्या बढी देखिएको हो ।
निर्वाचन आयोगका अनुसार प्रदेशभर प्रत्यक्षतर्फ ५.८४ प्रतिशत र समानुपातिकतर्फ ४.७१ प्रतिशत मत बदर भएका छन् । हिमाली जिल्ला बाजुरामा प्रत्यक्षतर्फ २.९८ प्रतिशत मात्र मत बदर भएको छ भने प्रदेशको अस्थायी राजधानी धनगढी कैलाली क्षेत्र नम्बर ५ मा ५.४८ प्रतिशत मत बदर भएको छ ।
कैलाली–५ मा ६५ हजार ७ सय ५२ मत खसेकोमा तीन हजार ६ सय ५ मत बदर भएका छन् । उक्त क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ रहेका छन । उक्त क्षेत्रमा एक लाख १० हजार ६ सय २९ मतदाता मध्ये ५९.४८ प्रतिशतले मतदान गरेका थिए ।
समानुपातिकतर्फ पनि ६६ हजार २ सय ९५ मत खसेकोमा दुई हजार ८ सय ७ अ र्थात ४.२३ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ सुदूरपश्चिमकै सबैभन्दा बढी ८.०१ प्रतिशत मत बदर भएको छ । एक लाख तीन हजार ८७ मतदाता मध्ये ५८ हजार २ सय ९ जनाले मतदान गरेकोमा चार हजार ६ सय ६३ मत बदर भएका छन् ।
भीमदत्त र दोधाराचाँदनी नगरपालिका तथा बेदकोट नगरपालिका वडा नम्बर ८ पर्ने यस क्षेत्रमा समानुपातिक तर्फ पनि ५.८१ प्रतिशत मत बदर भएको छ । निर्वाचन कार्यालयका अधिकारीका अनुसार महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा बदर मत धेरै देखिएको छ । मतपत्रमा गलत ठाउँमा छाप लगाउने, एउटै मतपत्रमा दुई वा तीनवटा छाप लगाउने तथा कतिपयले ल्याप्चे लगाउने जस्ता कारणले मत बदर भएको पाइएको छ ।
मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको अनुमान गरिएको छ । कैलाली क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ ७.२१ प्रतिशत र समानुपातिक तर्फ ५.४९ प्रतिशत मत बदर भएको छ । टीकापुर बजार तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिमभरी प्रत्यक्षतर्फ आठ लाख ७४ हजार मत खसेकोमा ५१ हजार ५६ मत बदर भएका छन् भने समानुपातिकतर्फ आठ लाख ८४ हजार १ सय ७७ मतमध्ये ४१ हजार ६ सय २४ मत बदर भएका छन् ।
प्रदेशमा कुल १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन् । बदर मत धेरै हुँदा निर्वाचन परिणाममा पनि प्रभाव पर्न सक्ने बताईएको छ । केही क्षेत्रमा जित–हार निकै कम मतान्तरले भएको उदाहरण छन् । अछाम–१ मा पाँच सय २६ मतान्तरले विजयी भएको निर्वाचनमा १ हजार ३ सय ८ मत बदर भएका थिए । तराईका सहरी क्षेत्रमा बदर मत उच्च हुँदा विकट हिमाली जिल्ला बाजुरामा भने बदर मत सबैभन्दा कम देखिएको छ ।
बाजुरामा प्रत्यक्षतर्फ ४५ हजार २ सय ५२ मतमध्ये १ हजार,३ सय ४६ र समानुपातिक तर्फ ४५ हजार ६ सय ६९ मतमध्ये १ हजार २ सय मत २.६३ प्रतिशत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार यसपटक प्रत्यक्षतर्फ बदर मत २०७९ को निर्वाचनको तुलनामा ०.८९ प्रतिशतले घटेको छ ।
प्रदेशभर ७ सय ३४ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा एक–एक जना स्वयम्सेवक परिचालन गरिएको बताउदै उनले समग्रमा बदर मत घटेको भए पनि अझै कम गर्न आवश्यक रहेको बताए । कम मतान्तर भएका क्षेत्रमा बदर मतले निर्वाचन परिणाममा प्रत्यक्ष असर पार्न सक्ने उनले बताए ।


