फागुन २८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–३ का किसानले लामो समय देखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गर्न बोरिङ जडान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले सिँचाइ अभावको समस्या समाधान गर्न अटोजन (ट्युवेल) बोरिङ जडान गरेको हो ।
बोरिङ जडान पछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको छ । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यतारहेकोमा ४० लाखमा सञ्चालित उक्त योजना मार्फत करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । यसअघि खेतमा सिँचाइ गर्नका लागि किसानले खोला तथा नदीबाट पम्पसेटको सहायताले पानी तान्नुपर्ने अवस्था रहेको थियो ।
वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले त्यसका लागि धेरै खर्च लाग्ने भएकाले किसान आर्थिक रूपमा मारमा परेको बताए । स्थानीय किसान मोहन चौधरीले बोरिङ जडान भएपछि सिँचाइका लागि खोला–नदीबाट पानी तान्ने झन्झटिलो प्रक्रियाबाट मुक्ति पाइएको बताए । बोरिङ जडान भएपछि स्थानीय तीन सय भन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने उनले बताए ।


