फागुन २० बैतडी । बैतडीमा विभिन्न विद्यालय, क्लब, आमा समूह लगायतले सामूहिक रुपमा होली खेलेर संकलन गरेको रकम शिक्षकहरुको तलबमा खर्च गरिने भएको छ । सामूहिक रुपमा होली खेलेर संकलन गरेको रकम विद्यालयमा निजीस्रोतबाट भर्ना गरिएका शिक्षकको तलबमा खर्च गरिने भएको हो ।
पाटन नगरपालिका वडा नम्बर–९ स्थित सिद्धेश्वर माध्यामीक विद्यालय हुक्केडाँडाका प्रधानाध्यपक प्रकाश महराले हरेक वर्ष विद्यालयबाट गाउँगाउँमा गएर होली खेल्ने गरेको जानकारी गराउदै संकल गरेको रकम शिक्षकको तलब र अन्य खर्च व्यवस्थापनको लागि खर्च गर्ने गरिएको बताए ।
विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी मिलेर हरेक बर्ष होली खेल्दै आएको प्रधानाध्यापक महराले बताए । यस बर्ष होली खेलेर ६५ हजार रुपैयाँ संकलन गरिएको बताउदै उनले उक्त रकम विद्यालयका शिक्षकहरुको तलबमा खर्च गरिने बताए । सिद्धेश्वर माध्यामीक विद्यालयमा पाँच जना निजी श्रोतका शिक्षक कार्यरत रहेको उनले बताए ।
संस्कृति संरक्षणका साथै विद्यालयमा शिक्षकको तलबको जोहो गर्न विभिन्न विद्यालयहरुले होली खेल्ने गरेको विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राजु भट्टले बताइन् । अधिकांश विद्यालय निजी श्रोतमा सञ्चालन भएकाले होली लगायतका कार्यक्रमबाट रकम संकलन गर्ने गरिएको उनले बताइन् ।
त्यसैगरी दोगडाकेदार गाउँपालिका वडा नम्बर–२ स्थित रौलेश्वर माध्यामीक विद्यालय कफलकोटले होली खेलेर १ लाख ६ सय रुपैयाँ संकलन गरेको छ । उक्त रकम बालविकास कक्षा सुधार र खेलकुद क्षेत्रको विकासमा खर्च गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टले बताए ।
त्यसैगरी सुर्नया गाउँपालिका वडा नम्बर–५ स्थित सिद्धनाथ आधारभूत विद्यालयले पनि होली खेलेर रकम संकलन गरेको विद्यालयले जनाएको छ । सिगास गाउँपालिका वडा नम्बर–९ जालहाल्ला स्थित हिमालय आमा समूहले होली खेलेर १९ हजार रुपैयाँ संकलन गरेको समूहकी अध्यक्ष दिव्यश्वरी मल्ल चन्दले बताइन् ।
उक्त रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताइन् । त्यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर–१ स्थित सत्यं शिवं सुन्दरम् समाजले यस बर्ष पनि होली खेलेको समाजका अध्यक्ष भुवन भट्टले बताए । होलीबाट संकलित रकम हरेक बर्ष सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको अध्यक्ष भट्टले बताए ।


