फागुन २० कञ्चनपुर । बाख्रामा ‘पिपीआर’ पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा सतर्कता बढाइएको छ । बाबाख्रामा लाग्ने अत्यन्त सङ्क्रामक ‘पिपीआर’ बाख्राको हैजा रोगको सङ्क्रमण पुष्टि भए पछि कैलाली र कञ्चनपुर जिल्लामा सतर्कता बढाइएको हो ।
धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षण अनुसार कैलालीको धनगढी उपमहानगर पालिका तथा कञ्चनपुरका पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनामा पिपीआर ‘पोजेटिभ’ देखिएको हो ।
प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा समेत सङ्क्रमण फेला परेको जानकारी गराए ।
प्रारम्भिक अनुसन्धानले भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा भित्र्याइएका बोकाबाट रोग फैलिएको देखाएको उनले बताए । ती पशु सीमानाकामा हुने स्वास्थ्य परीक्षण छलेर ल्याइएकाले स्थानीय बथानमा भाइरस सरेको हुनसक्ने उनले बताए । पिपीआर विषाणुजन्य र अत्यन्त छिटो फैलिने रोग भएकाले छोटो समयमै ठूलो क्षति पु¥याउन सक्ने उनले बताए ।
उच्च मृत्युदरको जोखिम रहने भएकाले पशु प्राविधिकहरूले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । पशु सेवा कार्यालय र प्रयोगशालाले नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिन सम्म छुट्टै (क्वारेन्टाइन) राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिएका छन् ।
खोरमा रहेका बाख्रामा कडा ज्वरो, मुखमा घाउ, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
अवैध पशु ओसार पसारका कारण फैलिने यस्ता महामारीले समग्र पशुपालन क्षेत्रलाई गम्भीर असर पार्न सक्ने भएकाले सीमावर्ती क्षेत्रमा कडा निगरानी गर्नुका साथै किसान स्वयं सचेत रहनु आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।


