फागुन १३ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको दानसाघुँ खोलामा बेलिब्रिज निर्माणको काम भइरहेको छ । बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज बुढीनन्दा नगरपालिकामा रहेको दानसाँघु खोलामा सार्नेगरी निर्माणको काम भइरहेको हो ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले लामो समयपछि जडाङ्गमा रहेको बेलिब्रिज दानसाघुँ खोलामा सार्ने काम भइरहेको बताए । जडाङ्गमा रहेको बेलिब्रिज सडक डिभिजन कार्यालय साँफेबगर अछामले दानसाघुँ खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर गरेर काम सुरु भइरहेको उनदले बताए । यस आर्थिक बर्षमा काम सक्ने गरी धमाधम काम भइरहेको जानकारी गराउदै उनले अहिले दानसाघुँ खोलामा दुवै तिर बेलिब्रिजका लागि फाउन्डेन निर्माण भइरहेको बताए ।
निर्माण कार्यको ठेक्का “डि एस जनकल्याण जे भि” काभ्रेले पाएको जानकारी गराउदैउनले भ्याट बाहेक २ करोड १ लाख १० हजार ८ सय १४ रुपैयामा काम गर्ने गरि सम्झौता भएको बताए । असारसम्म काम सकेर यातायात सञ्चालन हुने गरि धमाधम काम भइरहेको उनले बताए । जडाङ्गमा पक्की पुल निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको बताउदै नगर प्रमुख बोहराले लामो प्रयास पछि कोल्टीमा सार्न सफल भएको बताए ।
बेलिब्रिज सार्न जिल्ला देखि मन्त्रालय सम्म हरप्रयास गरेपछि सार्न सफल भएको बोहराले बताए । स्थानीयवासीले लामो समय देखि दानसाघुँ खोलामा सुरक्षित आवत जावतका लागि पुलको आवश्यकता भएको भन्दै माग गर्दै आएका थिए । बेलिब्रिज स्थापना भएपछि स्थानीय यातायात सहज हुने र आर्थिक–सामाजिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालयले समयमै प्रक्रिया पूरा भई चालु आर्थिक वर्षमै दानसागु खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने गरी काम थालिएको बताएको छ । मार्तडी कोल्टी सडकको मुख्य ठाउँ दानसागु खोला रहेको छ । बाजुराका चार पालिका, हुम्ला र मुगु समेत यही बाटोले जोडने गरेको छ । जडाङ्गमा रहेको बुढिगंगा नदिमा २०७७ साल साउन २५ गते देखि आएको बाढीले बेलिब्रिज बगाएको थियो ।
सडक विभागले तत्काल ठेक्का आब्हान गरेर माघ महिनाबाट बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । बेलिब्रिज आएको १ बर्ष पछि खोलामा पक्की पुनःनिर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा आएको थियो । पक्की पुल सञ्चालनमा आएपछि बेलिब्रिज भने तीन बर्ष देखि खोलमा त्यतिकै अवस्थामा थन्किएको थियो ।


