पौष २९ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८ स्थित स्याउले बजारमा उत्तरायणी पर्व विशेष कार्यक्रम सहित खिचडी कार्यक्रम गरिने भएको छ । स्याउले बजार व्यवस्थापन समितिको आयोजनामा माघ ३ गते उत्तरायणी पर्व तथा खिचडी कार्यक्रम ग रिने भएको हो ।
बजारस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा बिहान ११ बजेदेखि सुरु हुने खिचडी कार्यक्रममा डेउडा कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । साथै खिचडी, मासको बटुक, तरुल, सखरखण्ड, सेलरोटी, पुरी लगायतका परम्परागत परिकार पकाइने समितिका अध्यक्ष गोपाल देउवाले जानकारी गराए । संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
उत्तरायणी पर्व सुदूरपश्चिमका पहाडी जिल्लामा परापूर्वकाल देखि नै माघ ३ गते मनाउँदै आइएको पर्व भएको उनले बताए । पछिल्ला वर्षहरूमा पहाडबाट बसाइँ सरेर तराईका कैलाली र कञ्चनपुरमा आएका समुदायले पनि यो पर्व धूमधामका साथ मनाउन थालेको उनले बताए ।
यस दिन विवाह भएर गएका छोरीबहिनीलाई माइती बोलाई दान–दक्षिणा दिने, सामूहिक रूपमा खाना खुवाउने तथा सेलरोटी दिने चलन रहिआएको उनले बताए । उत्तरायणीलाई मिलन र मित्रताको पर्वका रूपमा लिइने बताउदै उनले महिलाहरूले रनपुतला नाच खेल्दै वीरह र आशाको भाव गीत मार्फत व्यक्त गर्ने परम्परा रहेको बताए ।


