पौष २७ धनगढी । भारतको दिल्ली विश्वविद्यालय अन्तर्गतको प्रतिष्ठित किरोरी मल कलेज र सुदूरपश्चिम विश्वविद्यालयको कैलाली बहुमुखी क्याम्पसबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा कैलाली बहुमुखी क्याम्पसका प्रमुख सह–प्राध्यापक डा. लोकबहादुर बिष्ट र किरोरी मल कलेज, वाणिज्य विभागका प्राध्यापक डा. पुष्पेन्द्र कुमारले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार दुवै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान, शैक्षिक तालिम, सेमिनार, कार्यशाला तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ । सम्झौता पत्रमा शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा प्रकाशनमा सहकार्य, शैक्षिक अनुभव र ज्ञानको आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिएको छ ।
सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन शैक्षिक सहकार्यको औपचारिक आधार तयार गरेको छ । कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी तथा प्राध्यापकलाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरणसँग जोड्ने कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा.लोक बहादुर बिष्टले बताए । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम कैलाली बहुमुखी क्याम्पसमा सम्पन्न भएको होे।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू सह–प्राध्यापक डा. मोहनसिंह साउद, सह–प्राध्यापक डा.शिवप्रसाद सापकोटा र सह–प्राध्यापक डा. घनश्याम भट्ट सहित सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति प्राध्यापक डा.राजेन्द्रबीर चन्द र विभिन्न विभागका प्रमुख तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख डा.बिष्टले आवश्यक शैक्षिक र प्राज्ञिक स्रोतहरुको व्यवस्थाका लागि उक्त सम्झैता महत्वपूर्ण रहेको बताए । ‘कैलाली बहुमुखी क्याम्पसका लागि यो निकै सुनौलो र महत्वपूर्ण अवसर बताउदै उनले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय विश्वविद्यालयका कलेजहरुसंग पनि सम्झौता गरेर प्राध्यापक आदान प्रदान र उहाँहरुको उन्नयनका लागि वृहत्तर रुपमा सोचिरहेको बताए ।
किरोरी कलेजका प्राध्यापक डा. पुष्पेन्द्र कुमारले सम्झौता कार्यान्वयन गर्दै चाँडै नै कैलाली बहुमुखी क्याम्पसलाई विभिन्न माध्यमबाट विद्यार्थी र प्राध्यापकहरुका लागि स्रोतहरु उपलब्ध गराउँदै निरन्तर सहकार्य गर्ने बताए । उक्त समझदारीले दुबै संस्थाबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ गर्दै प्राज्ञिक सहकार्य, अनुसन्धान र नवप्रवर्तनको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


