पौष १८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थित छलो समाजका महिलाहरु संस्कृती जोगाउन अग्रसर भएका छन । पहाडबाट बसाई सरी कञ्चनपुर आएका महिलाहरुले छलो समाज गठगरी संस्कृती जोगाउन अग्रसर भएका हुन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ पारिफाँटाकी ७० वर्र्षीय द्रोपती धामीले संस्कृती जोगाउनु पर्ने बताईन । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेकी उनले महिलाहरु संस्कृती जोगाउन लागेको बताईन । दार्चुलाको धुलगडाबाट बसाई सरी तराई झरेको करिब तीन दशक बितिसकेको बताउदै उनले पहाडको कठोर जीवन छाडेर सहज जीवनको खोजीमा तराई झर्दा परम्परा पनि हराउँदै गएको बताईन ।
पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्ने गरेको सम्झदै उनले तराई झरेपछि बिस्तारै त्यो परम्परा हराउँदै गएको बताईन । तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थालेको उनले बताईन । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरी जस्ता पहिरन लगाउन छाडिएको उनले बताईन । धामीले लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागेको बताईन ।“केहीलाई आधुनिक बन्ने रहर भएको बताउदै उनले केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नभेटिएको बताईन ।
परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको ‘छलो’ नृत्यको रौनक पनि हराउँदै गएको बताउदै उनले संस्कृती प्रति चिन्ता लागेको बताईन । त्यसैले गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरेर छलो समाज गठन गरी संस्कृती जोगाउने कार्यमा लागेको उनले बताईन । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृति प्रतिको मोहले अन्य महिलाहरु पनि संस्कृती जोगाउन सक्रिय भएका छन । समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्नाले“पहिरन सिउन सबैलाई नआउने बताउदै पहाडमा लगाइने जस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोजेर सिउन लगाएको बताईन ।
अहिले महिलाहरू सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सव लगायतका कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेको उनले बताईन । परम्परागत पहिरनमै छलो नृत्य समेत देखाउने गरिएको बताउदै उनले परम्परागत पहिरन तयार गर्न तीनदेखि पाँच हजार सम्म खर्च लागे पनि त्यसले पहिचान जोगाएको अनुभूति हुने गरेको बताईन । पहिरनले संस्कृति झल्काउने गरेको बताउदै उनले अरूलाई पनि संस्कृति जोगाउन प्रेरित गर्ने गरेको बताईन ।
छलो समाजमा २२ वर्षदेखि ६८ वर्षसम्मका ४० जना महिलाहरु आबद्ध भएको उनले बताईन । पाका महिलाले तन्नेरीलाई मौलिक पहिरनको महत्त्व बुझाउने मात्र नभई छलो नृत्य पनि सिकाउँदै आएको उनले जानकारी गराईन । पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन भएको बताउदै उनले अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले परम्परा जोगाइरहेको बताईन । परम्परागत पहिरनले पहिचान जोगिए पछि अहिले आधुनिक पहिरन लगाउने महिलाहरू पनि स्वतःस्फूर्त रूपमा मौलिक पहिरन सिउन थालेको उनले बताईन ।
पछिल्ला पाँच वर्षयता महिला सङ्गठित रूपमा परम्परा र पहिरन संरक्षणमा लागेको उनले बताईन । पचपन्न वर्षीया अमला ठगुन्नाले संस्कृति र पहिरन जोगिएकोमा निकै खुसी लागेको बताईन । अरु समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भनेर मनमा द्वन्द्व चल्ने गरेको बताउदै उनले अहिले आफैँ पहिरन लगाएर छलो देखाउन जाँदा छुट्टै आनन्द आउने गरेको बताईन । पहाडमा महिलाहरूले छिट (फर्कावाद) को कपडाबाट बनाइएको आठ देखि १२ पाटा सम्मको घाँघरो–चोलो लगाउने गरेको बताउदै उनले यस्तो पहिरन लगाउने महिलालाई सभ्य र सम्पन्न परिवारको रूपमा हेर्ने गरिएको बताईन ।
घाँघरो–चोलोसँगै आँगडो, टाउकामा सेतो कपडाको टँको, कम्मरमा सेतो पागडो बाँधिने जानकारी गराउदै उनले गहनामा सुनको नथिया, कानको मुदणा, नाकको बुलाकी, हातमा चाँदीका बाला, घाँटीमा चाँदीको सुत्ता र खुट्टामा पायल लगाइने बताईन । त्यसैगरी पूर्वशिक्षक शङ्करदत्त जोशीले गहना गाउँघरकै लुहार र तिरुवा जातिका व्यक्तिहरूले बनाउने गरेको सम्झदै पहाडको कष्टकर जीवनलाई त्यागेर तराई बसाइँसराइ पछि अन्य समुदायको चालचलनमा रम्न थालेसँगै पुरानो लवाइखवाई हराउँदै गएको बताए ।
परम्परा हरायो भने पहिचान नै हराउँने बताउदै उनले परम्परा जोगाउने महिलालाई सबैले हौसला दिनुपर्ने बताए । छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले अहिले पञ्चेबाजाको अभाव रहेको बताए । बाजाबिना छलो अधुरो हुने बताउदै उनले बाबुबाजेकै पालादेखि बजाउँदै आएको बताए ।
यसलाई निरन्तरता दिन स्थानीय सरकारले चासो दिनुपर्ने उनले बताए । शुक्लाफाँटामा केही महिलाको प्रयासले मौलिक पहिरन र छलो नृत्य पुनर्जीवित हुँदै गएको उनले बताए । महिलाहरूको पहल केवल नाचगान वा पहिरनमा सीमित नभई सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्माको संरक्षणको सङ्घर्षका रूपमा रहेको उनले बताए । त्यसैगरी सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आएका कृष्णबहादुर ठगुन्नाले परम्परा जोगाउने यो यात्रामा स्थानीय तह, राज्य र समाजको साथ जरुरी भएको बताए ।


