पौष १८ बैतडी । चिसो बढ्दै गएपछि बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–६ स्थित गुरुकुल माध्यमिक विद्यालय सेरामा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा ६ सम्मका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।
दशरथचन्द नगरपालिका वडा नम्बर ६ का अध्यक्ष महेन्द्र कार्कीले विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बताएका हुन । राधा माधव समिति बैतडी र डिभाइन युथ क्लबको सहकार्यमा आयोजित कार्यक्रममा २८ जना विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको कार्कीले जानकारी गराए ।
सहयोगले चिसोका कारण पठन पाठनमा देखिने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको उनले बताए । राधा माधव समितिले मानवीय सहयोग कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष जिल्लाका विभिन्न विद्यालयमा न्यानो लुगा वितरण गर्दै आएको डिभाइन युथ क्लबका अध्यक्ष नारायणदत्त जोशीले जानकारी गराए ।
हालसम्म बैतडीका ६ वटा विद्यालयका विद्यार्थीहरु यो कार्यक्रमबाट लाभान्वित भइसकेको जोशीले बताए । कार्यक्रम्मा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, वडा नम्बरं ६ का वडाध्यक्ष महेन्द्र कार्की तथा राधा माधव समिति बैतडीका अध्यक्ष हरिदत्त जोशी लगायतले यस्ता कार्यक्रमले बालबालिकाको विद्यालय पहुँच र निरन्तरतामा टेवा पुग्ने बताए ।


