मंसिर २५ डडेल्धुरा । फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधान मन्त्री समेत रहेका पार्टी सभापति देउवाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी गराए ।
डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि देउवाले अन्तिम पटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए । देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए ।
त्यसैगरी समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रिय सभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको जिल्ला सचिव हेमराज चटौतले जानकारी गराए ।


