मंसिर २४ धनगढी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । वुधबार धनगढीमा विभिन्न कार्यक्रमगरी नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो ।
कैलाली बहुमुखी क्याम्पसमा सशक्त महिला, समृद्ध नेपाल संस्था, गैर सरकारी संस्था महासंघ नेपाल, लैङ्गिक हिंसा विरुद्ध संयुक्त राष्ट्र संघको अभियान (युनाइट), युरोपियन युनियन र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा संयुक्त रुपमा कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको हो ।
विश्व व्यापी रुपमा यसवर्ष ‘सबै महिला तथा किशोरीमाथि हुने डिजिटल (अनलाइन) हिंसा अन्त्य गरौँ’ भन्ने साझा अभियान तय गरिएको थियो । नेपालमा भने “प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ“ भन्ने नारा तय गरिएको थियो । अभियानको समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले सुदूरपश्चिम प्रदेशमा जिल्लागत विद्युतीय (साइबर) अपराधको त्रि–वर्षिय मुद्दा दर्ताको तथ्याङ्क प्रस्तुत गरेकी थिईन् ।
आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशभर १६ वटा मुद्दा दर्ता भएको जानकारी गराउदै उनले सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा सात–सात वटा मुद्दा परेको बताँईन । त्यसैगरी बैतडीमा एउटा मुद्धा परेको बताउदै उनले बाँकी छ जिल्लामा कुनै मुद्दा नपरेको बताईन । आर्थिक वर्ष २०८१÷८२ मा भने मुद्दाको संख्या घटेको उनले जानकारी गराईन । उक्त वर्ष कैलालीमा तीन, कञ्चनपुरमा चार, अछाममा एक, बैतडीमा दुई, डडेल्धुरामा एक र दार्चुलामा एक गरि जम्मा १२ वटा मुद्दा दर्ता भएको उनले जानकारी गराईन ।
डोटी, बाजुरा, बझाङ र डडेलधुरामा भने मुद्दा नपरेको उनले जानकारी गराईन । चालु आर्थिक वर्षमा अहिलेसम्म जम्मा ६ वटा साइबर अपराधका मुद्दा दर्ता भएको उनले जानकारी गराईन । कैलालीमा एक, कञ्चनपुरमा चार र बाजुरामा एक वटा मुद्दा दर्ता भएको बताउदै उनले तराई क्षेत्रका जिल्लामा उजुरी संख्या बढी भएको बताईन ।
कार्यक्रममा युरोपेली संघको नेपाल प्रतिनिधि मण्डलकी उपप्रमुख ह्याथ्य्रु लुआगीले पछिल्लो समय साईबर अपराध लैङ्गिक हिंसाको प्रमुख स्रोतका रुपमा देखिएकोले लैङ्गिक समानता कायम गर्न डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताईन । त्यसैगरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डाः हेमराज रेग्मीले हिंसा रहित सभ्य र समावेशी समाज निर्माणका लागि सबै प्रकारका विभेदहरु न्युनिकरणमा सबै पक्षले लाग्नुपर्ने बताए ।
समानता र स्वतन्त्रताका हकहरुको संरक्षण तथा कानुनी व्यवस्थाको परिपालनमा जोड दिदै हिंसा नगर्ने प्रति सबैले प्रतिवद्ध हुनुपर्ने उनले बताए । कार्यक्रममा डिजिटल माध्यमबाट लैङ्गिक हिंसा बढिरहेको सम्बन्धी जनचेतनामुलक नाटक र अभियानमा विभिन्न समूह तथा विद्यार्थीहरुले तयार पारेका प्रतिकात्मक चित्र समेत प्रस्तुत गरिएको थियो ।


