मंसिर १५ दार्चुला । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको निर्माणका लागि दार्चुलामा संकलन भएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
सोमबारजिल्लास्थित विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुबाट सङ्कलित रकम ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ को खातामा जम्मा गरेको बैङ्क भौचर जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू कश्यपलाई हस्तान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले ‘राष्ट्र पुनर्निर्माणमा कर्मचारीहरुको ऐक्यबद्धता’ सहित आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि कर्मचारीहरुबाट रकम सङ्कलन गरिएको बताए ।
जिल्लामा कार्यरत करीब तीन सय कर्मचारीहरुबाट दुई लाख पैसठ्ठी हजार पाँच सय रुपैयाँ सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सङ्कलित रकम मध्ये सबै भन्दा बढी महाकाली नगरपालिकाले पचास हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी गराए ।

