मंसिर ०८ धनगढी । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावलीमा सुदूरपश्चिम प्रदेश भरी ४६ हजार २० जना नयाँ मतदाता थपिएका हुन ।
मतदाता दर्ता प्रक्रियामा राष्ट्रिय परिचयपत्र मार्फत २९ हजार ४ सय ३९ जना र निर्वाचन कार्यालयमै पुगेर १६ हजार ५ सय ८१ जना गरी ४६ हजार २० जना नयाँ मतदाता थपिएका हुन । उक्त अवधिमा सबैभन्दा धेरै मतदाता कैलाली जिल्लामा थपिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कैलालीमा राष्ट्रिय परिचयपत्र मार्फत १२ हजार १ सय १५ र कार्यालयमा उपस्थित भएर ६ हजार १ सय गरी जम्मा १८ हजार २ सय १३ जनाले नाम दर्ता गराएको जानकारी गराए ।
कैलाली पछि कञ्चनपुरमा सबैभन्दा धेरै मतदाता थपिएको जानकारी गराउदै उनले कार्यालयमा गएर ४ हजार १ सय ९९ र राष्ट्रिय परिचयपत्र मार्फत ८ हजार ९२ गरी १२ हजार २सय ९१ जनाले कञ्चनपुरमा नाम दर्ता गराएको जानकारी गराए ।
त्यसैगरी अन्य जिल्ला बैतडीमा २ हजार ६ सय ५२, दार्चुलामा २ हजार ६ सय २८, अछाममा २ हजार ६ सय ४, बझाङमा २ हजार ३ सय ४५, डडेल्धुरामा १ हजार ८ सय ९२, डोटीमा १ हजार ८ सय ७२ र बाजुरामा १ हजार ५ सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले जानकारी गराए ।
असोज १० गतेअघि सुदूरपश्चिम प्रदेशमा १६ लाख ७४ हजार मतदाता दर्ता भएको जानकारी गराउदै प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले ४६ हजार २० जना नयाँ मतदाता थपिएसँगै प्रदेशमा मतदाताको संख्या १७ लाख २० हजार २० जना पुगेको जानकारी गराए ।
मंसिर २१ गतेदेखि मतदाता अद्यावधिक कार्य सुरु हुने जानकारी गराउदै प्रमुख भट्टल् अद्यावधिक पछि मतदाताको संख्या केही घट्न सक्ने जानकारी गराए ।


