मंसिर ०८ धनगढी । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कैलाली कारागारबाट बाहीरिएका २ सय ३८ जना अझै फर्किएका छैनन । कारागारबाट बाहीरिएका ६ सय ६५ जना कैदीबन्दी मध्ये ४ सय २७ जना फर्किए पनि २ सय ३८ जना अझै नफर्किएका हुन ।
फरार रहेका कैदीमध्ये सबैभन्दा बढी लागू औषध र जघन्य अपराधका कैदी रहेको जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले जानकारी गराएका छन । फरार मध्ये १९ जना भारतीय नागरिक, १८ जना महिला र २ सय १ जना पुरुष रहेको उनले बताए ।
गृह मन्त्रालयले फरार रहेका कैदी पक्राउ गर्न कार्यदल गठन गरेपनि देशभरका कारागारबाट बाहीरिएका सबै कैदी नफर्किएको उनले जानकारी गराए । दशैं तिहारको बेला नफर्किए पनि अहिले कैदीहरू लगातार फर्किरहेको जेलर सापकोटाले बताए ।
भारतसँग खुला सिमाना रहेको कैलालीबाट कैदीहरू भाग्न नपाउन भनेर भारतमा पनि पत्राचार भइसकेको उनले जानकारी गराए । फरार कैदी नेपालबाट भारत भाग्न चाहे सहजै पक्राउ गर्न सकिने उनले बताए । पत्राचार गरिसकेको बताउदै उनले दशैं तिहारमा नफर्किए पनि अहिले कैदीहरु फर्किरहेको बताए ।


