मंसिर ०१ अछाम । बुढीगंगा जलविद्युत् आयोजना ईपीसी मोडेलमा निर्माण गरिने भएको छ । तीन दशक देखि चर्चामा रहेको २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजना सरकारको २०, साउदी फन्ड फर अरब डेभलपमेन्ट र कुवेत फन्ड फर अरब इकोनमिक डेभलपमेन्टको ८० प्रतिशत ऋण लगानीमा निर्माण गरिने भएको हो ।
जसका लागि भदौ २९ गते इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा आयोजनाको ठेक्का सम्झौता गरिएको छ । यसअघि विभिन्न कारणले तीन पटकसम्म ठेक्का रद्द भएको थियो । अहिले चौथो पटकको ठेक्का चिनियाँ कम्पनी सुपर पावर इन्जिनियरिङ कन्स्ट्रक्सन र नेपाली कम्पनी बानियाँ निर्माण सेवा प्रालि (मकवानपुर) बीच सम्झौता गरिएको छ ।
विभागले निर्माण गर्न थालेको यो शतप्रतिशत सरकारी जलविद्युत् आयोजना भएको बताईएको छ । ठेकेदारले आयोजना डिजाइन देखि निर्माण सम्मका सम्पूर्ण जिम्मेवारी लिएको बूढीगंगा जलविद्युत् आयोजना प्रमुख सुरेन्द्र घिमिरेले बताए ।
दुवै कम्पनीले ४२ महिना भित्र आयोजना पूरा गर्ने लक्ष्य राखेको उनले बताए । ‘ईपीसी मोडेलमा सम्झौता भएको हुँदा अब समयावधी विस्तारको बहाना देखाउन नपाइने उनले बताए । यो मोडेलमा काम छिटो हुने बताउदै उनले ईपीसी सम्झौता अनुसार ठेकेदारले डिजाइन (इन्जिनियरिङ), सामग्री खरिद (प्रोक्योरमेन्ट) र निर्माण (कन्स्ट्रक्सन) गरी आयोजनाको पूर्ण जिम्मेवारी बहन गर्ने बताइएको छ ।
ठेकेदारले ४२ महिना भित्र आयोजना पूरा गर्ने, गुणस्तर कायम राख्ने र लागत नियन्त्रित राख्ने सुनिश्चितता दिने उनले बताए । ईपीसी मोडेलले समानान्तर रूपमा काम अगाडि बढाउने सुविधा दिने बताउदै उनले ड्याम र पावरहाउस निर्माण हुँदै गर्दा उपकरण खरिद, जडान र परीक्षण पनि सञ्चालन हुने बताए ।
आयोजना प्रमुख घिमिरेले यसले परियोजनाको समय बचत गर्ने बताउदै जोखिम घटाउने र ठेकेदारले ढिला गर्ने वा लागत वृद्धि गर्ने बहाना कम हुने बताए ।


