कार्तिक ३० कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कुपोषणको दर उच्च रहेको पाईएको छ । महाकाली प्रादेशिक अस्पतालको पोषण पुर्नःस्थापना कक्षमा भर्ना भएका बालबालीकालाई हेर्दा कुपोषणको दर उच्च रहेको पाईएको हो । भिमदत्त नगरपालीका वडा नम्बर–१८ जानकी टोलकी पूजा शाहीले १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्दा शिशुलाई कुपोषण भएको थाहा पाएको बताईन ।
अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाएको बताउदै उनले तौल जाँच गराउँदा शिशुको तौल ६ किलो ४ सय ग्राम मात्र भएको बताईन । उमेर अनुसार शिशुको तौल ११ किलो हुनुपर्ने भए पनि उमेर अनुसार तौल नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना कक्षमा भर्ना हुन लगाएको उनले बताईन ।
दुई साता अघि देखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेकी उनले भर्ना भएको १० दिन भएको बताउदै १० दिनमा शिशुको सात सय ग्राम तौल बढेको बताईन । घरमा र अ स्पतालमा खाना खुवाउने तरिका धेरै फरक पाएको बताउदै उनले पुनःस्थापना गृहमा दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने गरेको बताइन् ।
त्यसैगरी भीमदत्त नगरपालिका बागबाणीकी गीता सेवाले पनि अस्पतालमा खोप लगाउन आएका बेला शिशुको तौल जाँच गराउँदा उमेर अनुसार तौल नपुगेपछि कुपोषण भएको थाहा पाएको बताईन । अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएको बताउदै उनले घरमा खानेकुरा एक दुईपटक शिशुलाई खुवाउने गरेकोमा अस्पतालमा दैनिक चार पटक फरक फरक पोषणयुक्त खानेकुरा आमा र शिशु दुवैलाई खुवाउने गरेको बताईन ।
भीमदत्त नगरपालिका वडा नम्बर–३ की विस्ना बोहराले पनि एक वर्षीया शिशुलाई पोषण पुनःस्थापना गृहमा भर्ना गराएको बताईन । पछिल्लो समय शहरी क्षेत्रकै बालबालिकामा कुपोषण देखिन थालेको छ । ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषणको दर उच्च रहे पनि पोषण पुनःस्थापना गृहमा पुग्न नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन ।
महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ जना शिशु भर्ना भएको अस्पतालले जानाएको छ । अस्पतालका अनुसार पुनःस्थापना गृहमा पाँच वर्षमुनिका आमा र बच्चाका लागि निःशुल्क उपचार गरिदै आएको छ । विक्रम सम्बत २०६३ सालमा सञ्चालनमा आएको पोषण पुनःस्थापना गृह १० शय्या (बेड) क्षमताको रहेको छ ।
पोषण पुनःस्थापना गृहका प्रमुख इन्द्रा भट्टले भर्ना भएका बालबालिका निको भएर जाने दर बढेको बताईन । तीन वर्षको तथ्याङ्क हेर्दा भर्ना हुने बालबालिकाको सङ्ख्या कम भएको देखिएको उनले बताईन । अहिले सहरी क्षेत्रकै बालबालिका बढी आएको देखिएको बताउदै उनले अहिले समुदायमै कडा कुपोषणका बालबालिका कम भएका हुन् कि समुदायमै छुटेका हुन् खोज्नुपर्ने विषय बनेको बताईन ।
विगतको तुलनामा समुदाय स्तरमा जतचेतानाका कार्यक्रम कम भएपछि भर्ना हुन आउनेको सङ्ख्या पनि कम भएको उनले बताईन । महिला काममै व्यस्त हुने र बालबालिकालाई समयमा खाना समेत खुवाउन नसक्ने हुँदा कुपोषित हुने गरेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने कडा कुपोषणका बालबालिका धेरै रहेका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९÷८० मा तीन सय ७५ जना बालिका र दुई सय ८१ बालकमा कडा कुपोषण देखिएको थियो भने चार सय ६५ बालिका र चार सय ४५ बालकमा मध्यम कुपोषण देखिएको थियो । आर्थिक बर्ष २०८०÷८१ मा छ महिना देखि ५९ महिना सम्मका चार सय ४४ बालिका र तीन सय ९३ बालकमा कडा कुपोषण देखिएको थियो भने ८२ जना बालिका र ६१ बालकमा मध्यम कुपोषण देखिएको थियो ।
त्यसैगरी, ६ महिना भन्दा कमका २४ जना बालबालिकामा कुपोषण देखिएको थियो । आर्थिक बर्ष २०८१÷८२ मा ६ महिना देखि ५९ महिना सम्मका तीन सय ६३ बालिका र दुई सय ४६ बालकमा कडा कुपोषण देखिएको थियो । अठार बालिका र २६ बालकमा मध्यम खालको कुपोषण देखिएको थियो भने छ महिना भन्दा कमका सात बालिका र २४ बालकमा पनि कुपोषण देखिएको थियो ।
चालु आर्थिक बर्षमा हालसम्म ६ देखि ५९ महिनाका ९५ बालिका र ९६ बालकमा कडा कुपोषण देखिएको छ । उनान्सठ्ठी बालिकामा र ३६ बालकमा मध्यम खालको कुपोषण देखिएको छ । त्यसैगरी छ महिना भन्दा कमका नौ जना बालकमा कुपोषण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।
“यसको निदानका लागि राज्य गम्भीर भएर लागेको बताउदै डा.लेखकले तथ्याङ्कमा कुपोषण घट्दो क्रममा रहे पनि बाल मृत्युदर घटाउने चुनौती रहेको बताए । पछिल्लो समय रोजगारी लगायतका काममा व्यस्त हुँदा पूर्ण रूपमा स्तनपान गराउने आमाको सङ्ख्या पनि घट्दै गएकाले बालबालिकामा कडा कुपोषण देखिने गरेको स्वास्थ्यकमीर्ले बताएका छन ।
आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पोषण हुने भएकाले छ महिना सम्म पूर्ण स्तनपान गराउनुपर्ने उनले बताए । आमाको दूधमा विभिन्न सङ्क्रमण विरुद्ध लड्ने प्रतिरोधात्मक तत्व पाइने भएकाले पूर्ण स्तनपान नहुँदा कुपोषण जस्ता समस्या देखिने गरेको उनले जानकारी गराए ।


