कार्तिक १२ बझाङ । सामाजिक कुप्रथा विरुद्ध बझाङका धार्मिक गुरुहरू सक्रिय भएका छन् । गाउँगाउँमा अभियान सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूत लगायत सामाजिक कुरीतिको विरुद्ध उनीहरू सक्रिय भएका हुन् ।
बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरूहरू गणेशप्रसाद पन्त र वैदिक सुरेश सनातनी आर्यले धार्मिक प्रवचनका माध्यमबाट स्थानीयलाई जागरुक बनाउने अभियान थालेका छन् ।
धार्मिक प्रवचनमा पण्डित पन्तले धर्मशास्त्रमा विभेदजन्य कुनै पनि क्रियाकलाप नभएको जानकारी गराए । उनले सनातनी हिन्दू धर्म मान्नेहरूले कुनै किसिमको कुरीतिलाई स्वीकार गर्न नहुने जानकारी गराए ।
उनले महिनावारी प्राकृतिक कुरा भमएको बताउदै महिनावारी नहुनु भनेको अस्वस्थ हुनु , बाँझोपन हुनु भएको बताए । सृष्टिकर्तामा बाँझोपन आउँछ भने उसले उत्पादन गर्न नसक्ने बताउदै उनले त्यसैले महिनावारी भएकालाई सम्मान गर्नुपर्ने बताए ।
परम्परागत रुपमा प्रयोग गरिने पञ्चगब्य र सुनपानीलाई पनि गलत अर्थ लगाएर प्रचार गरिएको उनले जानकारी गराए । उनले गहुँत छर्कनु भनेको कीटाणु मार्नु भएको बताउदै गहुँत गोबर तथा सुनपानीले सेनिटाइजरको काम गर्ने बताए ।


