कार्तिक ०२ अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर–७ मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरीलाई अमेरिकामा ‘हर्मन गोल्डस्टेइन अवार्ड’मार्फत सम्मान गरिएको छ ।
नेपाल प्रहरीले अछामको दुर्गम गाउँमा छाउपडी प्रथा अन्त्यका लागि सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी परियोजना मार्फत अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको हो । प्रहरीको यो परियोजना विश्वप्रसिद्ध ‘हर्मन गोल्डस्टेइन उत्कृष्ट समस्या–मुखी प्रहरी सेवाको’ उत्कृष्ट परियोजनामा छर्नाट भएको प्रहरी नायब उपरीक्षक एवं अछामका पूर्व प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।
प्रहरीका तर्फबाट परियोजना प्रस्तुत गर्ने टोलीमा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक प्रतिमा कार्की अमेरिका गएका थिए । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा अक्टोबर १३ देखि १५ सम्म कार्यक्रम भएको हो ।
अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयको आयोजनामा भएको नेपाल प्रहरीले ‘सामाजिक रुपान्तरणका लागि समुदाय–प्रहरी सहकार्यःअछामको मार्कु गाउमा छाउपडी प्रथा अन्त्य अभियान’ सम्बन्धी प्रस्तुतिकरण गरेको थियो ।
प्रहरीले समुदायमै काम गरेर प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय अवार्ड ‘हर्मन गोल्डस्टेइन अवार्ड’ रहेको र यसले नेपाल प्रहरीमा इतिहास रचेको भण्डारीले बताए । ‘अछाममा बसेर प्रहरी प्रमुखको रुपमा जुन काम गरियो सोही कामले पाएको अवार्ड लिन अमेरिका जानु मेरा लागि खुसीको क्षण हो,’ भण्डारीले भने ।
समुदायमा काम गरेर अन्तराष्ट्रिय अवार्ड पाएको यो नै पहिलो हो । छाउपडी प्रथा हटाउनका लागि प्रहरीलाई थप जिम्मेवार बनाएको छ । नेपाल प्रहरीले यो मोडेललाई सुदूरपश्चिम र कर्णालीका अन्य जिल्लाहरूमा पनि विस्तार गर्न सकिने निष्कर्ष निकालेको उनले बताए ।
.यो पुरस्कार अमेरिकी अपराधशास्त्री प्रोफेसर हर्मन गोल्डस्टेइनको नाममा सन् १९९३ देखि हरेक वर्ष प्रदान हुँदै आएको हो । गोल्डस्टेइनले सन् १९७९ मा समस्यामुखी प्रहरी सेवाको अवधारणा प्रतिपादन गर्दै प्रहरीलाई अपराधपछि मात्र प्रतिक्रिया जनाउने प्रणालीबाट हटाएर सामाजिक समस्या पहिचान र दीर्घकालीन समाधानतर्फ उन्मुख गराएका थिए ।


