असोज ३१ डडेल्धुरा । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून देखिएको छ ।
निर्वाचन आयोगले असोज १० गते देखि कार्तिक मसान्त सम्मका लागि देशभर मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरे पनि बिहीबार सम्म १ सय २१ जनाले मात्र नाम दर्ता गरेको निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
.कार्यालयका कम्प्युटर अपरेटर भवानी दत्त भट्टले आयोगमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र र नागरिकता प्राप्त व्यक्तिले अनलाइन प्रणाली मार्फत आफ्नो विवरण भर्ने व्यवस्था अहिलेको प्रणालीमा रहेको बताए ।
‘मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य भएको बताउदै उनले नागरिकता प्राप्त व्यक्तिले आफ्नो विवरण अनलाइन मार्फत भर्न सक्ने व्यवस्था पनि भएको जानकारी गराए ।
‘बायोमेट्रिकका लागि कार्यालयमा आउनु आवश्यक भएको बताउदै उनले अन्य सम्पूर्ण विवरण घरमै बसेर मोबाइल वा कम्प्युटरबाट भर्न सकिने बताए । अनलाइन प्रणाली प्रयोग गर्न नजान्दा वा इन्टरनेट पहुँच अभावका कारण पनि नाम दर्तामा ढिलाइ भइरहेको बताउदै उनले अहिले नयाँ नागरिकता लिएका युवा बढी नाम दर्ता गर्न आइरहेको बताए ।
अन्य उमेर समूहको सहभागिता भने न्यून भएको उनले जानकारी गराए । निर्वाचन आयोगले आगामी फागुनमा हुने निर्वाचनको तयारीका लागि देशभर मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरेको छ । आयोगले मतदाता नामावलीमा नयाँ नाम थप्न, त्रुटि सच्याउन र मृतक वा दोहोरो नाम हटाउनका लागि कार्तिक मसान्त सम्म समय तोकेको हो ।


