असोज १७ धनगढी । दशैँको टीका लगाउन जाने ४ सय ४ जनाले विजया दशमीको दिन निःशुल्क यातायात सेवा पाएका छन । धनगढी उपमहानगरपालिकाले विहीबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरु गरेको निःशुल्क यातायात सेवा ४ सय ४ जनाले पाएका हुन ।
टीका लगाउन जाने ४ सय ४ जनालाई निःशुल्क यातायात सेवा प्रदान गरिएको उपमहानगरले जानकारी गराएको हो । नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सवारी साधन नपाउने समस्यालाई मध्यनजर गरेर नगर प्रहरी मार्फत निःशुल्क यातायात सेवा दिइएको थियो ।
नगर प्रहरीले टीका ग्रहण गर्न जानेहरूलाई धनगढी उपमहानगरपालिका क्षेत्र भित्र निःशुल्क यातायात सेवा प्रदान गरेको थियो ।
बडा दशैँको दिन गन्तव्यमा पुगी टीका ग्रहण गर्न समस्या नहोस् भनेर नगर प्रहरीले ९ वटा मोटरसाइकल, एक नगर प्रहरीको भ्यान र धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकको गाडी मार्फत यातायात सेवा प्रदान गरेको थियो ।
नगर प्रहरीले धनगढीका १९ वटै वडामा निःशुल्क यातायात सेवा प्रदान गरेको थियो ।


