असोज ०८ धनगढी । दशैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य विगत झैँ लामो समय सम्म आयोजना हुने गरेको छैन । परम्परागत रूपमा कृष्ण जन्माष्टमी देखि सुरु भएर दशैँको टीकाका दिनसम्म सञ्चालन हुने सखिया नृत्य अहिले पाँच देखि १० दिनमै सीमित हुन थालेको छ ।
थारु संस्कृतिका जानकार हवलदार चौधरीले अघिल्ला पुस्तामा खेतीपातीमै निर्भर जीवनशैली भएकाले दशैँमा लामो फुर्सद पाइने भएकाले महिनौँ नाच्ने चलन रहेको बताए । अहिले अधिकांश युवा व्यावसायिक खेती, व्यापार, नोकरी वा परदेश रोजगारीतर्फ लागेकाले पाँच देखि १० दिनमै सीमित हुन थालेको उनले बताए ।
गाउँमा नाच्ने युवतीहरूको सङ्ख्या पनि घट्दै गएको बताउदै उनले युवा परदेश जाने र गीत,मादल सिक्ने परम्परा पनि पुस्तान्तरण हुन नसकेकाले सखियाको रौनक घट्दै गएको उनले बताए । सखिया नृत्यमा प्रयोग हुने गीत अधिकांशलाई कण्ठ नभएको बताउदै उनले मादल बजाउने सीप समेत लोप हुँदै गएको बताए ।
गीत र ताल पुस्तान्तरण हुन नसक्दा मौलिकता हराउँदै गएको बताउदै उनले यस नृत्यमा सामूहिकताको भावना बलियो हुने भएकाले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्न आवश्यक भएको बताए । सखिया नृत्यमा चार जना मादल बजाउने मदारी हुने बताउदै उनले अगुवा मदारीले ताल थाल्ने र पछुवा मदारीले त्यसैमा ताल मिलाउँने बताए ।
महिलाहरूलाई अगुवाइ गर्ने मोह्रिन्याको नेतृत्वमा जेठ गोहीया र पछगोहीया बनेर युवतीहरूले नृत्य गर्ने उनलेब ताए । नृत्यमा प्रयोग हुने ‘पैंया’ (खोट) २२ प्रकार सम्म हुने गरेकोमा अहिले मदारीहरूले नयाँ शैली सिर्जना गर्दै लयलाई परिमार्जन गरेर नृत्य पस्किने गरेको उनले बताए । थारु संस्कृतिका जानकार चौधरीले पैंया मादलको तालसँगै युवतीहरूले खुट्टा र शरीरको मुद्रामा प्रस्तुत गर्ने नृत्यशैली सखिया नृत्यको आकर्शणका रूपमा रहेको बताए ।
’सखिया नृत्य कृष्णको जन्म देखि कंश वधसम्मका प्रसङ्ग समेटिएको हुने बताए । त्यसैगरी वरघर सुरेस चौधरीले दशैँको सप्तमीसम्म रातमा आयोजना हुने यो नृत्य अष्टमीको रातभर नाचिने बताउदै ‘भेडुवा जगैना’ भनिने बताए । त्यो दिन कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलन समेत रहेको बताउदै उनले नृत्यमा सहभागी युवतीहरूले रङ्गीन ऐना जडित लुगाहरू लगाउने र मदारीले सेतो धोती–कमिज लगाउने बताए ।
हातमा मैजरी लिएर तालमा बजाउने महिलाहरूको सहभागिताले यसलाई अझ आकर्षक बनाउँने उनले बताए । सखिया नृत्य नवमीको दिन देखि दशैँको दिनसम्म दिउँसो नाच्ने थारु बुद्धिजीवी धनबहादुर चौधरीले बताए । नयाँ पुस्ताले परिवर्तन खोजेकाले पनि नृत्यप्रति चासो कम देखिँदै गएको उनले बताए ।
समय अनुसार सखिया नृत्यलाई ढाल्न आवश्यक देखिएको बताउदै उनले संस्कृति र पर्यटनसँग जोड्न सके यसले भविष्यमा पनि महत्त्व पाउँने बताए । सखिया नृत्य गाउँगाउँमा धनी–गरिब सबैका घरमा देखाइने भएकाले सामाजिक सद्भाव र मेलमिलाप कायम गर्ने माध्यमका रूपमा रहेको उनले बताए ।
दशैँपछि नृत्यमा सहभागीलाई सामुहिक भोज (ख्यारा खाने) गर्ने परम्परा थारु समुदायमा रहेको उनले बताए । संयुक्त परिवारको संरचना भङ्ग हुँदै एकल परिवार बढ्नु, गाउँबाट रोजगारीका लागि बाहिरिने बाध्यता र खर्चिलो परम्परा सखिया नृत्य छोटिने प्रमुख कारण बनेको उनल बताए ।


