भदौ ३१ धनगढी । सुदूरपश्चिम प्रदेशको थारू बस्तीमा मौलिक सखिया नाचको रौनक सुरु भएको छ । दसैँ नजिकिएसँगै थारू गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । दसैँ, तिहारको बेला सखिया नाच नाच्ने चलन रहेको छ ।
चाडपर्वमा नाच देखाउनका लागि तयारी स्वरूप महिलाले सखिया नाच नाच्न थालेका हुन् । साँझपख भइरहेको सखिया नाचले थारू बस्ती रौनकमय बनेको छ । दसैँ नजिकिए पछि महिलाले सखिया नाच सुरु गरेको गोदावरी नगरपालिका वडा नम्बर–८, फकलपुरका माधव चौधरीले बताए ।
मादल र मिजुराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने उनले बताए । दसैँतिहारको अवसरमा थारू समुदायका महिलाले सामूहिक रूपमा नाच्ने परम्परागत नृत्य भएको उनले बताए । यो नाचमा महिला सबैले एकनासको मौलिक वेशभूषा लगाएर नाच्ने गरेको उनले बताए ।
मादल बजाउने ‘मदरिया’ को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको उनले बताए । साथीसङ्गी मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको उनले बताए ।
थारू समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्छन् । सखी सखी अर्थात् साथीहरू मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो ।
सखिया नाच थारूसमुदायको मौलिक लोकनृत्य हो । खास गरी चाडपर्वमा सखिया नाच्ने गरे पनि हालका दिनमा विभिन्न कार्यक्रम, मेला, महोत्सवमा पनि यो नाच देखाउने गरिएको छ । उनले भने ।


