भदौ २५ धनगढी । थारू समुदाय परम्परागत रुपमा हस्तकला सीपले सामाग्री बनाउने विषयमा पोख्त देखिएका छन । पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकला सिपले सामग्री बनाउने विषयमा उनीहरु पोख्त देखिएका हुन ।
बाँस, मूञ्ज, घाँस, सनपाट, माटो लगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने हस्तकलाद्वारा निर्माीत सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन् । थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहर लगायत सामग्री प्रयोगमा ल्याउने गरेका छन ।
यी मौलिक सामग्री उत्पादन गर्ने सीप पुस्तान्तर भए पनि व्यावसायिक ज्ञान, लगानी र बजार पहुँचको अभावमा लोप हुँदै गएको समुदायका अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए । “परम्परागत सीपलाई उत्पादन र बजारसँग जोड्न सके हजारौँ परिवारलाई रोजगारी दिन सकिने उनले बताए ।
व्यावसायिक सोच र अनुभव नहुँदा सम्भावनामा मात्र सीमित भएको बताउदै उनले अहिले केही थारू युवायुवती मौलिक सामग्री बनाउने व्यवसायतर्फ आकर्षित हुन थालेको बताए । हस्तकलाको व्यवसायीकरणतर्फ उनीहरुको चासो न्यून भएको बताउदै उनले निर्मित सामग्री बजारसम्म पुर्याउन नसक्दा पुस्तान्तरण हुँदै आएको सीप घरभित्रै सीमित बनेको बताए ।
शुक्लाफाँटा नगरपालिकाका उद्योग शाखा प्रमुख धनबहादुर चौधरीले परम्परागत हस्तकलाबाट बनेका वस्तुहरू बजारको माग अनुसार परिमार्जन गर्न सके आकर्षक आयआर्जनको स्रोत बन्न सक्ने बताए । थारू महिला मध्ये आधकांश परम्परागत चोल्या, लेहङ्गा र अन्य कपडा बनाउन सिपालु भएको बताउदै उनले आधुनिक डिजाइन र आकर्षक बुट्टा राखेर बनाउन सके बजार खोज्नै नपर्ने बताए ।
चलचित्र छायाङ्कन, साङ्गीतिक कार्यक्रम र नृत्यका लागि मौलिक वेशभूषा तथा सजावटी सामग्रीको माग बढ्दो क्रम्मा रहेको बताउदै उनले यसैलाई ध्यानमा राखी उत्पादनमा आधुनिकता थपेमा स्थानीय मात्र नभई अन्तरराष्ट्रिय बजारसम्म पनि लैजान सकिने सम्भावना रहेको बताए । स्थानीयस्तरमा कच्चा पदार्थ पाइनुका साथै श्रमिक सहज रूपमा पाइने भएकाले न्यून लागतमा उत्पादन गर्न सकिने लक्ष्मण चौधरीले बताए ।
थारु समुदाय तराईमा बसोबास गर्ने भएकाले यसरी उत्पादन भएका हस्तकलाका वस्तुहरु सडक र यातायात मार्फत बजारसम्म पुर्याउन सहज भएको उनले बताए । यसलाई अवसरका रूपमा उपयोग गर्ने हो भने हस्तकलालाई उद्योगस्तरमा लैजान सकिने बताउदै चौधरीले गाउँमा सुप्पा, गुन्द्री, छतरी अझै बनाइने गरिएको बताए ।
बजारसम्म पु¥याउने सीप र लगानी नभएकाले कला ओझेलमा परेका उनले बताए । सरकारले तालिम र बजारको पहुँच पुर्याइदिने हो भने यसैबाट आम्दानी लिन सकिने उनले बताए । बजारको माग अनुसार नयाँ डिजाइन बनाउन तालिम चाहिने बताउदै उनले “अहिले विदेशी बजारमा पनि नेपाली परम्परागत हस्तकलाको माग बढेको बताए ।
त्यसैगरी युवा व्यवसायी जानकी चौधरीले परम्परागत ढाँचाका कपडा, गहना र सजावटी सामग्रीको माग बढ्दो क्रम्मा रहेको बताउदै यसलाई अन्तरराष्ट्रिय बजारसम्म लैजान सके आम्दानी गर्ने प्रशस्त सम्भवना देखिएको बताईन ।
त्ष्सैगरी सोभा खुनाले मौलिक संस्कृतिसँग जोडिएका वस्तुलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको बताउदै यसले आर्थिक मात्र होइन, सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान दिने बताईन ।
थारू हस्तकलालाई प्रतिस्पर्धी बनाउन साना उद्यम, सहकारी संस्था र स्थानीय सरकार बिचको समन्वय अपरिहार्य रहेको उनले बताईन । बजारमुखी तालिम, लगानी, बजार व्यवस्थापन र निर्यात प्रवर्धन नीति ल्याउन सकिने हो भने थारू समुदायको हस्तकलाले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने उनले बताईन ।


