भदौ १५ धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गौरा पर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पु¥याइरहेको बताएका छन् ।
गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले गौराले आपसी प्रेम र सद्भावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएउदै संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पु¥याइरहेको बताएका हुन ।
गौरा पर्वले सामाजिक सद्भाव सहित सम्पूर्ण नेपालीबीच भावनात्मक एकता र आपसी भाईचारा अभिवृद्धि गर्दै नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षा सहित प्रदेश प्रमुख मियाँले शुभकामना सन्देश दिएका हुन ।
घरपरिवारबाट टाढा रहेका आफन्तहरू समेत यो पर्वमा आफ्ना घर फर्किने भएकाले पारिवारिक मिलनमा पनि यो पर्वको विशेष महत्व रहेको प्रदेश प्रमुखले बताएका छन ।
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवम् दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
दूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आईतबार दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँएको छ । शनिबार साँझ गौराघरमा भित्रयाएको गौरालाई आईतबार बर्तालु महिलाले गौरा मन्दिरको गौराखला आँगनमा लगेर पूजा गर्ने चलन रहिआएको छ ।
गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।


