भदौ १० धनगढी । आज देशभर नेपाली हिन्दु महिलाहरूले देवाधिदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाई रहेका छन् । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वती सहित उनको पूजा आराधना गर्ने धार्मिक परम्परा अनुसार महिलाहरुले हरितालिका तीज मनाई रहेकाहुन ।
अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा पाउँ भनि व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभए पछि उनले शिव लिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् ।
अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ । तिजको अघिल्लो दिन दर खाने गरिन्छ । परम्परागत रूपमा दरमा खीर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ । आधुनिक समाजमा तीजको महत्वलाई जनरूपले व्याख्या गरी मनाइए पनि यो एक पौराणिक काल देखि चलि आएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउने गर्छन् ।
यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।
महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठुलो भूमिका रहेको छ । तीजमा विवाहित महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।
व्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । यस दिन दिनभर शिवालय गई शिवजीको दर्शन पूजन गर्ने, भजन कीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ ।
बिहीबार दर खाए पछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमी सम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।


