भदौ ०१ अछाम । अछामको साँफेबगर–मेल्लेख सडक स्तरोन्नतिको काम आठ महिना देखि अलपत्र परेको छ । सडक स्तरोन्नतिको ठेक्का पाएको कम्पनीका ठेकेदार सम्पर्कविहीन भमएपछि सडक निर्माणको काम आठ महिना देखि अलपत्र परेको हो ।
साँफेबगर नगरपालिकाको सिमानामा पर्ने दुई वटा पालिका मेल्लेख–साँफेबगर जोड्ने मुख्य सडक निर्माणको काम अलपत्र हुँदा वर्षायामको बेला कच्ची सडकमा नागरिकले सास्ती भोग्नु परेको छ ।
हालसम्म पनि निर्माण कम्पनीले काम नगरी विभिन्न बहाना बनाएर ठेकेदार सम्पर्कविहीन हुने गरेका कारण कच्ची सडकमा नागरिकले सास्ती भोग्नु परेको हो ।
स्थानीय हिरिन्ड बहादुर कुँवरले यस विषयमा सम्बन्धित निकायले ध्यान दिन नसकेको बताउदै सडकमा नालीको व्यवस्थापन नहुँदा बर्षातमा आएको पानी स्थानीयका घरसम्म आउने गरेको बताए ।
जसले गर्दा पाँच वटा घर पहिरोको उच्च जोखिममा रहेको र बारम्बार स्थानीयले सास्ती बेहोर्नु परेको उनले बताए ।
सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्तर्गत साँफे–मेल्लेख सडक स्तरोन्नतिको काम ललितपुर इमाडोलको नाति कन्स्ट्रक्सन प्रालिले २०७९ साल देखि सुरु गरेको भमए पनि“ठेकेदार लगानीका लागि पैसा छैन भन्दै पन्छिने गरेको बताखईएको छ ।
धेरै पटक कार्यालयबाट ताकेता गरेको बताउँदै पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी इन्जिनियर देवीप्रसाद उपाध्यायले कायालयका तर्फबाट कुनै कमी नगरेको बताए ।
जसरी हुन्छ काम सुरु गर्नुस् भनेको बताउदै इन्जिनियर उपाध्यायले अधुरो कामका लागि २०८३ असार मसान्त सम्म करिब एक वर्ष म्याद थप गरेर एक करोड ५० लाख रुपैयाँ आइसकेको बताए ।
नपुग रकमका लागि रकमान्तर गरेर पनि काम गराउने प्रक्रिया चलिरहेको बताउदै उनले ठेकेदारले विभिन्न बहाना बनाएर आलटाल गर्दै कार्यालयको सम्पर्कमा नआएको बताए ।
नाति कन्स्ट्रक्सनले अहिलेसम्म ११ करोड १० लाख ४२ हजार ६ सय २६ रुपैयाँ भुक्तानी लिइसकेको उनले बताए । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्र्तगत उक्त सडक स्तरोन्नतिको काम पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वयनमा आएको उनले बताए ।
सडक स्तरोन्नति अन्तर्गत सडकको नाली निर्माण र ग्राभेल निर्माणको काम गरिने उनले जानकारी गराए । ठेकेदारले बैङ्क जमानत, बिमाका लागि समेत पैसा नभएको बताउँदै आएको उनले जानकारी गराए ।
अहिलेसम्म केही नाली व्यवस्थापन र मेसिनरीको काम मात्रै भएको देखिएको बताउदै उनले जुन कामको ८३.६१ प्रतिशत हुन आउने बताए । नाली र ह्युमपाइप नराख्दा वर्षायामको पानीले निर्माणाधीन सडक पनि भत्किँदै गएको उनले बताए ।
नगरप्रमुख कुँवरले नाति कन्स्ट्रक्सनका सञ्चालक ज्ञानेश महर्जनले कार्यालयको फोन समेत नउठाएको बताउदै योजना अलपत्र पारेका ठेकेदारले पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने गरेको बताए । नगरप्रमुख कुँवरले वर्षायाममा निर्माणाधीन सडकले झनै जोखिम बढाएको बताए ।


