साउन २३ अछाम । आकासे पानीको भरमा रोपाइँ हुने केही ठाउँमा धान रोप्न अझै बाँकी रहे पनि अछामको साँफेबगरका एक जना किसानको खेतमा साउनमै धान पाकेको छ । साँफेबगरस्थित बुढीगङ्गा नदी किनारमा साउनमै बर्खे धान पाकेको हो । वैशाख अन्तिम सातामा रोपिएको धान साउन मध्यतिरै पाकेको छ ।
ढिलो वर्षा हुँदा कतिपय किसानले बिउ जोगाउन नसकेर धान रोप्ने खेतमा गहत, मास जस्ता गेडागुडी छरेको अबश्थामा साफेबगरमा साउन महिनामै धान पाकेको हो । चाँडै धान पाकेको खेतमा पुनः धान रोप्ने सोच बनाएको कृषक डम्बरदेवी बुढाले बताईन ।
वैशाख अन्तिम साता चार रोपनीमा धान रोपेको बताउदै उनले यति चाँडै पाक्दा खुसी लागेको बताईन । धान पाक्ने समय भन्दा अगाडी धान कटाइ र चुटाइ गरिरहेको उनले बताईन । सिँचाइको सुविधा भएका ठाउँमा समयमै रोपाइँ भए पनि केही ठाउँमा े अझै रोपाइँ हुन बाँकी रहेको छ ।
अछाममा रोपाइँ हुने जग्गा १५ हजार ७ सय ६१ हेक्टर क्षेत्रफल रहेको कृषि ज्ञान केन्द्र अछामका सूचना अधिकरी भूमिराज उपाध्यायले जानकारी गराए । रोपाइँ हुने करिब दुई प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी रहेको उनले बताए ।
धान रोपाइँ हुने कुल क्षेत्रफलको करिब ३० प्रतिशत मात्रै वर्षभरि सिञ्चित हुने बताउदै उनले बाँकी ७० प्रतिशत आकासे पानीको भरमा सिँचाइ हुने गरेको बताए ।
उन्नत जातको धान भएका कारण छिटो पाकेको बताउदै उनले पछिल्लो समय किसानको आकर्षण उन्नत जातका बिउमा बढेको उपाध्यायले बताए ।


