जेठ ०१ धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड मा हुने‘एकेडेमिया इन्डष्ट्रि डाइलग’ शैक्षिक उद्योग अनुशिक्षणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने भएका छन् । घोडाघोडी क्याम्पसद्वारा आयोजित उक्त कार्यक्रममा विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले जानकारी गराएका हुन ।
जेठ २ गते बिहान साढे नौ बजे उद्घाटन गरिने कार्यक्रमलाई प्रमुख बक्ताको रूपमा सम्बोधन गरिसके पछि महासचिव विप्लवले दिउँसो हुने शेसनमा ’नेपालमा कृषि क्रान्ति संभावना र चुनौती शीर्षकमा ९० मिनेटको प्रस्तुति दिने कार्यतालिका रहेको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जानकारी गराए ।
क्याम्पस प्रमुख भट्टराईका अनुसार शिक्षालाई श्रम र उद्योगसङ्ग कसरी जोड्ने र युवाहरूको बिदेश पलायनता घटाउन के गर्न सकिन्छ भन्नेबारे अभिप्रेरित गर्न कार्यक्रम आयोजना गरिएको हो । उनले विप्लवले अहिले देशव्यापी कृषि उत्पादनद्वारा युवाहरुमा आशाको सञ्चार गरिरहेकाले उनको परिकल्पना र अनुभव शिक्षक, विद्यार्थी लगायत नागरिकका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको बताए ।
‘एकडेमिया इन्डष्ट्रि डाइलग’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, पत्रकार एवं लेखक नारायण वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार डा. यज्ञराज पाठकले विभिन्न विषयमा प्रस्तुति दिने कार्यतालिका रहेको जनाइएको छ ।


