पौष १६ टीकापुर । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास मेरा गाउँको खड्क्या मन्त्री एक समारोहका बिच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्क बहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले गरेका हुन ।
गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापन सहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ । लोकार्पण कार्यक्रममा उपन्यास माथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरू भन्दा यो कृति उत्कृष्ट भएको बताए ।
चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्जलिकतामा जोड दिएको उनले बताए । गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्रलाई प्रमुख अतिथि बनाएर लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उक्त उपन्यासको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने बताए ।
गगन फाउन्डेसनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल तथा कालुप्रसाद काफ्लेले उपन्यास बारे बोलेका थिए । कार्यक्रममा दैलेखका दिलीप आचार्यले पुस्तक बिक्रीबाट सङ्कलन गरेको १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
टीकापुर नगरपालिका वडा नम्बर। १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपालीले बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् । आख्यानकार स्वर्गीय थापाका यस अघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित भएका छन् ।


