कार्तिक २३ बैतडी । चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गृहभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।
अपी नाम दिइएको पानी उद्योगले एक लिटर, आधा लिटर र तीनसय मिलिलिटरको चार कुने बोतलमा पानी राखेर बिक्री सुरु गरेको हो । पानीको मूल्य एक लिटरको २५ रुपियाँ, आधा लिटरको १५ र तीनसय मिलि लिटरको १० रुपैयाँ मूल्य कायम गरिएको छ ।
पानी उद्योगमा १६ जनाले रोजगारी पाएका छन् । निजी क्षेत्रको अपी पावर कम्पनीले यस अघि ४० मेगावाटको अपर चमेलिया, ८.५ मेगावाटको नौगाड र ८ मेगावाटको अपर नौगाड गरी ५६.५ मेगावाट बिजुली उत्पादन गरिसकेको छ ।
विद्युतसँगै पानी उद्योग सञ्चालन गरेर बजारमा शुद्ध पिउने पानीको आपूर्ति सुरु भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । बैतडी, दार्चुला, डडेल्धुरा हुँदै तराईका कैलाली र कञ्चनपुर र डडेल्धुराको स्याउले हुँदै डोटी सम्म पानी बिक्री भइरहेको बताईएको छ ।
पानी उद्योगले दैनिक २० हजार लिटर पानी उत्पादन गर्दै आइरहेको छ । चमेलिया नदीको पानी अपी हिमालको फेदबाट बग्ने भएकाले पानीको नाम अपी राखिएको बताईएको छ । अपीको पानी छिट्टै नेपालभरि बिक्री वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
नेपाल सरकार र निजी क्षेत्रका कम्पनीले चमेलिया नदीको पाँच ठाउँबाट कुल ९६.५ मेघावाट बिजुली उत्पादन सुरु गरेका छन । नेपाल सरकारको लगानीमा चमेलियाको बलाँचमा ३० मेघावाट, निजी क्षेत्रको लगानीमा माथिल्लो चमेलिया ४० मेगावाट, अपर चमेलिया ८.५ मेगावाट, नौगाड ८ मेगावाट र अपर नौगाड १० मेगावाट कुल ९६.५ मेघावाट बिजुली उत्पादन सुरु भएको छ ।
बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिए पछि बैतडी, दार्चुला र बझाङबाट चमेलियाको ग्रिडमा १५० मेघावाट बिजुली प्रवाह भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
एउटै चमेलिया नदीको पाँच ठाउँबाट विद्युत् उत्पादन भए पछि अँध्यारोमा रहेका बैतडी, दार्चुला र बझाङका गाउँमा विद्युत् विस्तार सुरु भएको छ । बैतडीमा यस वर्ष सात हजार घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य रहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले जानकारी गराए ।

