साउन ०७ धनगढी । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको छ । सोमबार नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जर पश्चात् गरिएको पद व्यवस्थापनमा असन्तुष्ट कर्मचारीहरूले अत्तरिया सहित देशभरीका अधिकांस शाखा कार्यालयमा तालाबन्दी गरेका हुन ।
मर्ज पछि पद व्यवस्थापन गर्दा साबिकको मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक ‘ख’ पदमा कार्यरत कर्मचारीलाई केन्द्र व्यवस्थापक पदमा रूपान्तरण गरिए पछि कर्मचारीको घटुवा गर्ने काम गरिएको भन्दै नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित भएका हुन् ।
अत्तरिया शाखामा कार्यरत कर्मचारीका अनुसार आइतबार देश भरीका नेरुडे मिर्मिरे लघुवित्तका कार्यलयहरुमा तालाबन्दी गरिएको हो । नेरूडे र मिर्मिरे लघुवित्त २०७९ पुस ११ गते मर्ज भएका थिए । मर्ज हुनु केही समय अघि मात्रै साबिकको मिर्मिरे लघुवित्तले कनिष्ठ सहायक ‘ख’ पदमा १६१ जना कर्मचारी नियुक्त गरेको थियो ।
ती कर्मचारीलाई मर्ज पछि केन्द्र व्यवस्थापक पदको जिम्मेवारी दिए पछि अहिले उनीहरू आन्दोलित भएका हुन । नाम नबताउन सर्तमा एक जना केन्द्र व्यवस्थापकले पद घटुवा भएपछि काम गर्ने मनोबल घटेको बताए । मर्जपछि कनिष्ठ सहायकमा बढुवा गर्नु पर्नेमा झन् घटुवा गरिएको उनले बताए ।
उनीहरूले यसअघि पनि असार २० गते र असार २५ गते ध्यानाकर्षण पत्र दिएका भए पनि सुनुवाइ नभए पछि बाध्य भएर तालाबन्दी गरिएको बताएका छन् । उनीहरूले साबिक मिर्मिरे लघुवित्तको कर्मचारी सेवा नियमावली र कर्मचारी सेवा सुविधा सम्बन्धी कार्यविधि अनुसार सेवा सुविधा कायम गरिनु पर्ने लगायतका माग गरेका छन् ।


