असार ०४ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–५ सोभातालमा बेलौरी नगरपालीकाले डुङ्गा (वाटर बोट) सञ्चालन गरेको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले डुङ्गा (वाटर बोट) सञ्चालन गरेको हो ।
सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन डुङ्गा सञ्चालन गरिएको बेलौरी नगर उपप्रमुख जोगराम चौधरीले जानकारी गराए । उनले भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको जानकारी गराउदै डुङ्गा सञ्चालनको जिम्मा सोभाताल संरक्षण समितिलाई दिइएको बताए ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा ताल मध्ये दुई वटामा डुङ्गा सञ्चालन, दुई वटामा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख चौधरीले जानकारी गराए । तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुई वटा बोरिङ जडान गरिएको बताउदै उनले सोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म २५ करोड खर्च भइसकेको जानकारी गराए ।
उपप्रमुख चौधरीले पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको जानकारी गराए । यसअघि पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको बताउदै उपप्रमुख चौधरीले पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुङ्गा सवार गरेको शुल्क लिने गरेको जानकारी गराए ं।
पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजना सहित प्रक्रिया अगाडि बढाएको उनले बताए । त्यसैगरी सोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीको अवसरमा समेत वृद्धि हुने बताए ।
रोजगारीका नयाँ अवसर सिर्जना हुने बताउदै उनले पर्यटकीय गतिविधिले आयमा वृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिने बताए । पर्यटकीय क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकासँग छलफल गरी योजनाबद्ध रुपमा अगाडि बढ्ने उनले जानकारी गराए ।


