जेठ २७ धनगढी । कैलालीको धनगढीमा श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गदै उद्यमशीलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे । मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा साबित हुने उनले बताए ।
निजी क्षेत्र तथा सरकार मातहतका निकायहरूले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए । मन्त्री भण्डारीले सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर सञ्चालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने बताए । वैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपाङगता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य रहेको मन्त्री भण्डारीले बताए । मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसँग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने उनले बताए ।
साथै आन्तरिक पुँजी र उत्पादन वृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनले बताए । उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्त्वपूर्ण भूमीका खेल्ने बताईन । यस्ता रोजगार मेला बर्षेनि आयोजना गर्न आवश्यक रहेको उनले बताईन ।
युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको अवस्थामा जमिन जग्गाहरू बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहाँ धेरै अवसर पाइने मन्त्री थापाले बताइन् । रोजगारीको अवसर प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारबारे कसरी जानकारी लिने भन्ने उद्देश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । मेलामा १२ वटा सरकारी र २७ वटा निजी क्षेत्रका गरी ३७ वटा स्टलहरू रहेका छन् । मेला भोली सम्म चल्ने छ ।

