गणेश बहादुर नेपाली ,धनगढी, सुदूरपश्चिम प्रदेश, नेपाल ।
सेवा निवृत्त शिक्षक, कवि, साहित्यकार समाजसेवी, बौद्धिक , प्राज्ञिक व्यक्तित्व डा. पीताम्बर अवस्थी बहुमुखी प्रतिभाले सम्पन्न परोपकारी मानवतावादी ज्योतिर्मय मानस नक्षेत्र हुनुहुन्छ । शिक्षाको उज्यालो प्रकाश छरेर समाजमा चेतनाको चिराग प्रज्वलित गरी एक कर्तव्यनिष्ठ शिक्षकको भूमिका निर्वाह गर्दा समाज र देशको सम्मानले विभूषित हुनुभएका अवस्थी समाजमा व्याप्त गरीबी , पिछडापन, विभेद, असमानता विरूद्ध जागरण ल्याई सामाजिक न्यायको बहालीका लागि क्रियाशील मात्र होईन संघर्षरत अहिंसावादी क्रान्तिनायक पनि हुनुहुन्छ । जुन समाजले डा. पीताम्बर अवस्थी जस्ता मानवीय भावनाका विद्वान समाज सुधारक प्राप्त गर्दछ त्यो समाजको अहोभाग्य अवर्णनीय सौन्दर्यले सुरम्य हुने सुनिश्चित छ ।
समाजका अनेक उहापोह, आरोह अवरोह, रितिवाज, परम्परा, चालचलन, संस्कृतिले मान्छेका बानी, स्वभाव, प्रवृत्तिलाई प्रभावित गर्दछन् । यो पर्नुपर्ने प्रभाव सकारात्मक हो तर विडम्बना केही हाम्रा चालचलन, रितिरिवाज, परम्पराले मानिसका बिचमा विभेद, असमानता र आडम्बरलाई जानी नजानी संरक्षण गरिरहेका हुन्छन् । यस्तो संरक्षणले समाज विभाजनको विन्दूमा पुग्दछ । यो विभाजन आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, धार्मिक सबैतिर प्रवेश गरेर जनजीवनलाई पक्ष विपक्षमा उभिन लगाउदछ । यो विभाजनले समाजलाई जात, धर्म, लिंग, वर्ण जस्ता त्राषदिपूर्ण विभेद र विभाजनको कुचक्रमा फसाउन कुनै कसर बाकी राख्दैन । यसै कारण समाजमा गरिबी छ । अशिक्षा छ । चेतनाको अभाव छ । अन्याय छ । मानिस जानेर नजानेर सामाजिक विकृती र विसंगतिलाई अवलम्बन गरेर मानिसलाई नै दुख दिईरहेको छ । घृणा गरिरहेको छ । अपमान गरिरहेको छ । सामाजिक विकृति र विसंगतिलाई नेस्तनाबुद गरेर कमजोर तप्का र वर्गका लागि बोल्न कसैलाई फुर्सद नै छैन् । आफ्नो स्वार्थका लागि बाहेक मानिस अरूका लागि धेरै थोरैले मात्र आवाज उठाउछन् । यस्ता थोरै मानिस मध्ये हुनुहुन्छ डा. पीताम्बर अवस्थी पनि ।
समाजको सर्बांगीण विकासका लागि शैक्षिक उन्नयनार्थ शिक्षण पेशा गरिसक्नु भएका, सामाजिक सांस्कृतिक सुधार र परिवर्नका लागि संघर्ष गरिरहनुभएका, साहित्यको श्रीवृद्धिका लागि मनसा, बाचा, कर्मणा दत्तचित्त भएर लागिरहनु भएका महामना डा. अवस्थीका सामाजिक, साहित्यिक, योगदान अद्वितीय लाग्दछ । भारतको उत्तराखण्ड राज्य धार्मिक आध्यात्मिक साधना र तपस्याको पवित्रस्थलका रूपमा हाम्रा धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ । त्यसैले उत्तराखण्डलाई देवभूमि देवस्थली मानिएको छ । देवभूमिका निवासी डा अवस्थी भारतको पिथौरागढमा पूज्य माता पिता हेमन्ती अवस्थी(हरूली आमा) र पूज्य ज्योतिषाचार्य जयदेव अवस्थीका पुत्ररत्नका रूपमा जन्मनु भएको हो ।
कोविद. इतिहास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिक विज्ञान, हिन्दीमा स्नाकोत्तर, योगाचार्य साहित्याचार्य लगायत विद्यावारिधि गर्न सफल प्राज्ञिक व्यक्तित्व डा. पीताम्बर अवस्थीले शिक्षा र ज्ञानको उज्यालोमा समाज समुदायलाई लाभान्वित गर्न आफैले ज्ञान प्रकाश सँस्कृत पुस्तकालयको स्थापना गरेर समाजको प्राज्ञिक उन्नयनमा विशिष्ट योगदान गर्नुभएको छ । जुन पुस्तकालयमा साठीहजार बढी पुस्तकहरू रहेका छन् । अध्ययन, अनुसंधानको विशिष्ट हो त्यो पुस्तकालय । उहाले दर्जन कृति रचना गर्नुभएको छ । अनेक अनुसंधानात्मक लेखहरू पनि लेख्नु भएको छ ।
वातावरण संरक्षणका र जिवजन्तु बचाउ अभियानलाई सशक्त बनाउन, प्रकृति प्रेम बालबालिकामा अभिवृद्धि गर्न बाल करुणा क्लब स्थापना गरी शान्ति र अहिंसाको मार्ग अवलम्बन गराइ रहनु भएको छ । शान्तिप्रिय अहिंसावादी डा. अवस्थी समाजमा व्याप्त अन्धविशास, रूढीवाद र असमनता विरुद्ध पनि संघर्षरत क्रान्तिकारी व्यक्तित्व हुनुहुन्छ । वर्तमानमा भएको आधुनिक विकास संगै भित्रिएका बिकृतीले समाजको सर्बांगिण विकासको मार्गमा चुनौती थपिएको छ । अनेक चुनौतीहरू मध्ये लागू औषध दुर्व्यसन जाड रक्सीको सेवन, धुम्रपान, सुर्ती र खैनीको प्रयोगले जनजीवन कठिन, दुखदायी, अस्तव्यस्त बनाइ दिएको छ । दुर्व्यसनले युवा र किशोरलाई नशाको कुलतमा फसाएको छ । यो भयावह अवस्था प्रति सचेत र गम्भीर देखिएका अवस्थी समाजलाई दुर्व्यसन र कुलत विरुद्ध अभियान चलाएर नशामुक्त बनाउन भगिरथ यत्न गरिरहेका छन् । यो अभियानको प्रभाव पिथौरागढ, उत्तराखण्ड, भारतमात्र परिहने होईन यसको प्रभाव वैश्विक नै हुन्छ । यसै अभियानका कारण उहाँ राज्य सरकारबाट सम्मानित भइसक्नु भएको छ । विशाल भारतमा समेत उहाँ नशामुक्त अवस्थीका नामले सुप्रसिद्ध हुनुहुन्छ । भारतका विभिन्न राज्यमा शिक्षा, साहित्य, समाज सेवा र पर्यावरण संरक्षण सम्बन्धि सम्मान द्वारा विभूषित भइसक्नु भएको छ ।
नेपाल भारत सिमा स्थित भारतको उत्तराखण्ड राज्यको पिथौरागढ शैक्षिक साँस्कृतिक धार्मिक नगरी पिथौरागढ निवासी डा. पीताम्बर अवस्थी भारत नेपालको साझा साँस्कृतिक विरासतको उन्नयन र श्रीवृद्धि गर्न नेपाल र भारतका साहित्यकार, सँस्कृतिविद, सँस्कृतिकर्मी, गायक, कलाकारहरूको सम्मेलन र गोष्ठी अयोजना गरिरहनु भएको छ । राजनीतिक रूपमा विभिन्न कालखण्डमा नेपाल भारतका सरकारी असमझदारीलाई निस्तेज गर्न अहम् भूमिका निर्वाह गर्नेछन् उहाले आयोजना गरिरहनु भएका भाषा साहित्य र कला सम्बन्धी द्विदेशीय प्राज्ञिक बौद्धिक र लोक साहित्य सम्बन्धी कार्यक्रमहरूले ।
विभिन्न स्वार्थमा लिप्त जिम्मेवार निकाय र व्यक्तिहरूका कारण उत्पन्न हुने द्विदेशीय तनाव र असमझदारीलाई पनि मत्थर पार्ने अनि समाधानतिर अग्रसर गराउन महत्वपूर्ण मियोका रूपमा सक्रिय अवस्थी भारत नेपालको सम्बन्धलाई सुमधुर बनाई रहनु भएको छ । उहाँले थालनी गर्नुभएका भारत नेपाल साझा विरासतलाई अझ प्रगाढ गर्न गरिएका कार्यक्रमहरू अनुकरणीय , प्रसंशनीय, सह्रानीय छन् । नेपालमा पनि सीमा क्षेत्रका सबै तिर उहाँ पीताम्बर अवस्थी जस्ता व्यक्तित्वको आवस्यकता रहेको देखिन्छ ।
मैले पनि उहाको ज्ञान प्रकाश सँस्कृत पुस्तकालय र हीरादेवीभट्ट इन्टर कलेज पिथौरागढको आयोजनामा सुदूरपश्चिम प्रदेश नेपालका पूर्व मूख्यमन्त्री माननीय राजेन्द्र सिंह रावल प्रमुख अतिथि हुनुभएको भारत–नेपाल अन्तररास्ट्रिय काव्योत्सवमा सहभागी हुने अपूर्व अवसर पाएको थिए । सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष श्री तीर्थराज पाण्डेय र साहित्यकार हेमबाबु लेखकको सल्लाहमा हामी गणेश बहादुर नेपालीको एकलव्य गजल संग्रह, कैलाश पाण्डेयको एकलव्यको देशमा कविता संग्रह र कृष्ण सिंह पेलाको फूलको प्रहार मुक्तक संग्रह विमोचन गरिएका थिए । यो सुअवसर प्रदान गर्ने आयोजक सहयोगी मन प्रति आभारी छु ।
त्यस्तै म त्यतिबेला कार्यरत विद्यालय श्री धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढी कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पनि फागुन ५ गते २०८० वि.सं. मा डा.अवस्थीले लागुऔषध दुर्व्यसन विरुद्ध को नशामुक्ती अभियान संचालन गरेर विद्यार्थीहरूलाई सुचरित्र निर्माण गर्न, स्वास्थ्य र भविष्य प्रति सचेत रहन, परिवार र समाजप्रति जिम्मेवार हुन उत्प्रेरित गर्नुभयो । त्यसैगरी उहाले आफ्नी आमाको नाममा स्थापित गर्नुभएको हरूली आमा छत्रवृति पनि विद्यालयका छात्रालाई प्रदान गरिने गरि रू. १६०००÷– सोह्र हजार नेपाली रूपैयाँ विद्यालयका प्रधानाध्यापक श्री लक्ष्मण दत्त भट्टलाई नगद प्रदान गर्नु भयो । सोही समारोहमा विद्यालयले उहालाई सम्मान तथा अभिनन्दन गरेको थियो ।
भारत नेपाल साझा साँस्कृति ,लोक साहित्य, भाषाको उन्नयन र श्रीवृद्धिमा कटिबद्ध डा. पीताम्बर अवस्थी समाजसेवा, साहित्य सिर्जना, मातृभूमिको सेवा गरिरहदै उहाको मातृभूमिको घनिष्ट छिमेकी देश नेपाललाई पनि असल छिमेकीका रूपमा हेर्नुहुन्छ । भारत नेपाल सम्बन्धलाई अटल, अटुट र प्रगाढ बनाउने मानस सेतु हुनुहुन्छ साहित्यकार अवस्थी । उहाका अभियान नेपाल भारत सुमधुर सम्बन्धका लागि कोषेढुंगा हुनुहुन्छ ।
लेखक सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीका महासचिव हुनुहुन्छ ।


