चैत्र ०७ धनगढी । कच्चा पदार्थको अभावमा कैलालीका एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नपाउदा एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका हुन । त्यसैगरी केही उद्योग सञ्चालन खर्च जुटाउन नसकेर बन्द भएका छन भने केही उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका छन ।
कतिपय उद्योगका सञ्चालक रोजगारीका सिलसिलामा विदेश गएकाले पनि उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको पनि कार्यालयले जाकारी गराएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको कार्यालयले जानकारी गराएको हो । कैलालीमा हाल सम्म १५ हजार चार सय ३४ वटा उद्योग दर्ता भएको कार्यालयले जानकारी गराएको छ ।
दर्ता भएका उद्योग मध्ये एक सय ३७ वटा उद्योगको दर्ता खारेज भएको कार्यालयले जानकारी गराएको छ । हालसम्म तीन हजार एक सय ९४ उत्पादन मूलक, छ हजार चार सय ८८ कृषि, दुई वटा निर्माण, ६५ वटा पर्यटनमूलक, १२ वटा सूचना प्रविधि,पाँच हजार छ सय ७३ सेवामूलक गरी १५ हजार चार सय ३४ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङकले देखाएको छ ।
कार्यालयमा दर्ता भएका १५ हजार चार सय ३४ वटा उद्योगमा २५ अर्ब लगानी प्रस्ताव गरिएको कार्यालयले जानकारी गराएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक निर्वाचन क्षेत्र एक उद्योग कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको छ ।
कार्यालयका अनुसार दर्ता भएका उद्योगमा नौ हजार एक सय २० जना महिला र ६९ हजार छ सय ११ पुरुषले रोजगारी प्रस्ताव गरिएको कार्यालयले जानकारी गराएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७९÷८० मा घरेलु तथा साना उद्योग कार्यालयले ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको जानकारी गराइएको छ । चालु आर्थिक बर्ष २०८०÷८१ को फागुन सम्म रु एक करोड पाँच लाख राजस्व सङ्कलन भएको जानकारी कार्यालयले गराएको छ ।


