कार्तिक २३ धनगढी । टिकापुरमा रहेको सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले दिपावलीका लागी गोबरका दियो र अगरबत्ती बनाउन थालेको छ । टीकापुर नगरपालीका वडा नम्बर –५ मा रहेको सीतापुर सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले पहिलो पटक गोबरका दियो, मूर्ति र अगरबत्ती बनाउन थालेको हो ।
छाडा चौपायाहरुलाई व्यवस्थापन गर्दै गौशाला सञ्चालन गरिरहेका टीकापुरका ९ जना स्वयंसेवी युवाहरुले दीपावलीलाई लक्षित गरी गौशालाबाट उत्पादन हुने गौमुत्र र गोबर प्रयोग गरी दियो, अगरबत्ती र मूर्ति बनाउन सुरु गरेका हुन । ६ महिना अघि देखि दुई सय घनमिटरको गोबरग्यास प्लान्ट स्थापना गरेर ५५ घरमा बिहान र साँझ दुई÷दुई घण्टा निःशुल्क गोबरग्यास वितरण गरिरहेको समितिले गोबर र गौमुत्र उपयोग गर्दै सामान बनाउन सुरु गरेको हो ।
समितिका सचिव द्वारिका जैसी र सदस्य उपेन्द्र न्यौपानेले भारतको उत्तराखण्डस्थित काँशीपुरमा पुगेर यसबारेमा तालिम लिएर गौशाला सञ्चालन गरेका हुन । स्वयंसेवी रूपमा अग्रसर भएका युवाहरूले लोकबहादुर बुढाथोकीको अध्यक्षतामा यकराज पण्डित, द्वारिका जैशी, गेहेन्द्र बम, रुथ सुवेदी, उत्तमकुमार शाह लगायत युवाको समूह बनाई गौशाला स्थापना गरेर गौ संरक्षणमा जुटेको सचिव जैशीले जानकारी गराए ।
दियो उत्पादन गर्न चार जना महिला खटिएको जानकारी गराउदै उनले भारतबाट आयात भएको दियो भन्दा गोबरबाट बनाएको दियो सस्तो पाईने बताए । माटोको दियो प्रतिगोटा पाँच रुपैयाँ पर्ने बताउदै उनले त्यो भन्दा सस्तो गोबरको दियो प्रतिगोटा तीन रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी गराए । दैनिक १ हजार ६ सय दियो उत्पादन भइरहेको जानकारी गराउदै उनले शतप्रतिशत स्थानीय र धार्मिक रूपमा पनि शुद्ध र पवित्र रहेको बताए ।
दिपावलीलाई लक्षित गरी ७० हजार दियो उत्पादन गर्ने लक्ष्य रहेको समेत उनले जानकारी गराए । छाडा चौपायाको बेहाल देखेर पाँच महिना अघि जेठ १४ गते सामूदायिक समिति गठन गरेर गौ संरक्षणमा अग्रसर भएको उनले जानकारी गराए । गौशालामा ७ सय ३० वटा गाई रहेको जानकारी गराउदै जैशीले टिकापुर नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिएको बताए । ८ जना हेरालु राखेर गौशालामा गाईको ब्याबश्थापन हुदै आएको उनले जानकारी गराए ।

