असोज १४ धनगढी । कैलालीमा तीन वर्षयता गत असार सम्म ५ सय ४७ वटा उद्योग बन्द भएका छन । उद्योग क्षेत्रमा आर्थिक मन्दीको प्रभाब देखीन थाले पछि तीन वर्षयता गत असार सम्म ५ सय ४७ वटा उद्योग बन्द भएका हुन । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका कार्यालय प्रमुख कमलप्रसाद ओझाले आर्थिक वर्ष ०७७÷७८ मा १ सय ४० वटा उद्योग ०७८÷०७९ मा १ सय ७५ उद्योग र ०७९÷८० मा २ सय ३२ उद्योग गरी ५ सय ४७ वटा उद्योग बन्द भएको जानकारी गराए । उद्योगबाट बजारीकरण हुने र लगानी गरेर आम्दानी पनि राम्रै पाउने आशामा खोलिएका साना तथा ठुला उद्योगहरुमा कच्चा पदार्थ अभावका साथै आर्थिक मन्दीको प्रभाब देखीन थाले पछि उद्याग बन्द हुन थालेको उनले जानकारी गराए । कार्यालय प्रमुख ओझाले यस्तो कहिल्यै नभएको बताउदै नयाँ दर्ता हुने भन्दा दर्ता तथा सञ्चालनमा रहेका उद्योगको दर्ता खारेजी गर्न आउनेको संख्या दैनिक रूपमा बढ्दै गएको जानकारी गराए ।
उनले सुदूरपश्चिममै ठूलो लगानी रहेको उद्योग मध्येको कैलालीको लम्कीस्थित डल्फिन ग्रुपले पनि आफ्ना आठ वटा उत्पादन बन्द गरेको जानकारी गराए । सुदूरपश्चिमकै व्यापारिक तथा औद्योगिक हबका रूपमा रहेको कैलालीमा स्थापना भएका उद्योगहरू धमाधम बन्द हुन थालेको जानकारी गराउदै कृषि क्षेत्रका, उत्पादनमूलक, सेवामूलक, होटल तथा पर्यटन उद्योग बन्द हुने गरेको प्रमुख ओझाले जानकारी गराए । उद्योग दर्ता खारेजी फाराममा धेरैजसो उद्योग बन्द गर्नुको कारण आर्थिक मन्दी, कच्चा पदार्थ अभाव लगायतका कारणले उद्योग सञ्चालनलाई निरन्तरता दिन नसकेको उल्लेख गरिएको उनले जानकारी गराए । एकातिर लागत र मूल्य बढेकाले व्यापार घटेको, अर्कोतिर कच्चा पदार्थ महँगीएकाले समस्या भएकाले उद्योग बन्द हुने गरेको कार्यालय प्रमुख ओझाले जानकारी गराए ।
सुदूरपश्चिम प्रदेशमा ठूला तथा मझौला उद्योगको श्रेणीमा पर्ने ठूलो लगानीका उद्योग सञ्चालनको अभिलेख नभएको बताउदै उनले सञ्चालित उद्योग घरेलु तथा साना उद्योग मात्र भएको जानकारी गराए । हालसम्म कैलालीमा साढे २३ अर्बका साढे १४ हजार साना उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी गराएको छ । २३ अर्ब ४३ करोड ४७ लाख लगानी रहेका उद्योगहरुले ७६ हजार बढीको संख्यामा रोजगारी सिर्जना गरेको कार्यालय प्रमुख ओझाले जानकारी गराए । कैलालीका उत्पादनमूलक उद्योगले सबै भन्दा बढी २९ हजार ३ सय १४ जनालाई रोजगारी दिएको कार्यालय प्रमुख ओझाले बताए । कृषिमूलक उद्योग क्षेत्रमा २० हजार ८ सय ६९ जनाले रोजगारी पाएको उनले बताए । त्यसैगरी कृषि क्षेत्रका उद्योग ६ हजार १ सय ३५ वटा,सेवामूलक क्षेत्रका ५ हजार ३ सय ८५ वटा ,उत्पादनमूलक क्षेत्रका ३ हजार ८७ वटा रहेको उनले जानकारी गराए ।
प्रदेशकै व्यापारिक तथा औद्योगिक हब भएकाले सात वटा पहाडी जिल्लाको खाद्यान्न लगायत सामग्रीको खरिद केन्द्र पनि कैलाली भएको बताउदै कार्यालय प्रमुख ओझाले पछिल्लो समय उद्योगहरू धमाधम बन्द हुने गरेकाले संकट निम्तिएको जानकारी गराए । कैलालीमा सञ्चालन हुँदै आएको देउती गुट्खा प्याकेजिङ उद्योग, २० वर्ष देखि लम्कीमा सञ्चालनमा रहेको डल्फिन ग्रुपका चामल, दाना, आँटा, भुजा लगायत आठवटा उत्पादनलाई नेपालगन्ज लगेको उनले जानकारी गराए । व्यवस्थापन लगायतका समस्या भएको बताउदै डल्फिनका सञ्चालक सूर्यबहादुर थापाले साढे चार सय जनाको रोजगारी गुमेको जानकारी गराए । उद्योगहरू बन्द हुँदा पुँजी स्थानान्तरण मात्रै नभई स्थानीय रोजगारी पनि गुम्दै गएको उनले बताए । उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशको उद्योग व्यवसायलाई कसरी माथि उठाउने भन्ने विषयमा सबैले जिम्मेवार बन्नु पर्ने बताए ।
कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर–१२ जुगेडामा दीपेन्द्र बहादुर सिंहले चार वर्षअघि झन्डै डेढ करोड खर्चेर कृषि स्थापना गरेको कृषी फार्म अहिले बन्द गर्नु पर्ने अबश्था आएको छ । सुदूरपश्चिम प्रदेशमा राम्रै बजार पाउने आँकलन गरेर स्थानीय जातका कुखुरा, लौकाट, टर्की र भैंसीपालन, ह्याचरी राखेर चल्ला उत्पादन, आफ्नै दाना उद्योग र रेस्टुरेन्ट खोलेका उनले आर्थिक मन्दीका कारण उद्योग बन्द गर्नु पर्ने अबश्थामा पुगेको जानकारी गराए । सुरुका दुई वर्ष उत्पादन र बिक्री राम्रै भएको बताउदै उनले आम्दानी राम्रै भएकाले बिस्तारै लगानी बढाउदै लगेको बताउदै व्यापार ओरालो लाग्दै गरेका कारण उद्योग बन्द गर्नु पर्ने अबश्था आएको बताए ।
त्यसैगरी वैदेशिक रोजगारीबाट फर्केर धनगढीमै जिन्स कपडा उद्योग सञ्चालन गरेका धर्मराज जोशीले ७० जनालाई रोजगारी दिएर सुरु गरेको उद्योग बन्द गर्नुपरेको बताए । बजार नपाएको बताउदै उनले राज्यले करमाथि कर मात्रै असुल्न थालेकाले र आर्थिक मन्दीका कारणले उद्योग बनद गरेको जानकारी गराए । उनले स्वदेशमै केही गरौं भन्ने उद्देश्य र उत्साहकासाथ वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको उद्योग घाटामा गए पछि बन्द गर्नु परेको जानकारी गराए ।


