भदौ ०१ धनगढी । कैलालीको टीकापुरमा पाइप लाइनबाट घरघरमा ग्याँस जडान गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्याँस प्लान्ट सञ्चालनमा आए पछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास जडान गरिएको हो । टिकापुर नगरपालिका वडा नम्बर–२ सीतापुरका भुवन चौधरीले घरमा पाइप लाइनबाट ग्यास जडान भए पछि निकै खुसी भएको बताए । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनले पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास नभएको बताउदै घरमा पाइप लाइनबाट ग्यास आए पछि खुस् िभएको बताए । वर्षौँदेखि दाउराबाट खाना पाक्ने घरमा अहिले ग्यासमा खाना पाक्न थालेको उनले बताए ।
आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न नसकिएको बताउदै उनले नजिकै जंगल भएकाले दाउराको समस्या नहुँदा सहज भएको बताए । त्यसैगरी स्थानीय धनादेवी चौधरीले ग्यास उपलब्ध भए पछि दुःखका दिन सकिएको बताईन । दाउराको भरमा खाना पकाउन समस्या हुने गरेको बताउदै उनले अहिले एक घन्टामा खाना पाक्ने गरेको बताईन । समयमै .खाना पाके पछि समयमै काममा जान सकिएको बताउदै उनले भाँडाकुडा माझ्न पनि सहज भएको बताईन । ग्याँस नियमित नहुँदा भने कहिलेकाहीँ समस्या हुने गरेको उनले गुनासो गरिन ।
ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित हुन नसकेको बताउदै उनल अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको बताईन । ग्याँस प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिना देखि परीक्षणका लागि ग्याँस प्लान्ट सञ्चालनमा रहेको छ । ग्याँस नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनु पर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरीले बताईन । दीर्घकालीन बन्ने÷नबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ उनले भनिन । दुई सय घनमिटर क्षमताको बायो ग्याँस प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्याँस पुगेको छ । ग्याँस प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि रहेको छ ।
ग्याँस घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले लिएको छ । १ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । गौशालामा चौपायाको गोबरबाट ग्याँस उत्पादन गरेर त्यो ग्याँस गाउँमा पठाउने गरिएको छ । सामुदायिक चौपाया व्यवस्थापन तथा प्रर्वद्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले चौपायाको गोबरलाई संकलन गरेर प्लान्टमा राख्ने गरेको बताउदै त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जाने बताए । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेको पनि उनले जानकारी गराए ।
गोबर पर्याप्त नभएको बताउदै उनले आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टा मात्रै ग्याँस प्लान्ट सञ्चालन हुँदै आएको जानकारी गराए । गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको बताउदै उनले मल भण्डारका लागि भण्डारकक्ष समेत नगरपालिकाले निर्माण गरेको बताए । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्रीले बताए । एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियतमा ग्याँस वितरण गर्न सकिने उनले बताए । नगरपालिकाले एक वर्षको लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ ।
त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रूपमा स्थापित गरेर छाड्ने बर्ताईएको छ । नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिका भित्रका सामुदायिक चौपाया व्यवस्थापन हुने, स्थानीयले ग्याँस प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मल समेत उत्पादन हुने बताएका छन् । नगरपालिकाले उक्त बायो ग्याँस प्लान्टबाटै बजार क्षेत्रबाट संकलन भएको फोहरको व्यवस्थापन गर्ने तयारी समेत गरेको उनले बताए । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए । गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रर्वद्धन आयोजना जोडिएको छ ।
नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावना अनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ । गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्याँस प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्याँसका लागि बजार क्षेत्रमा संकलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था लगायतमा सहयोग गरेको इन्जिनियर जोशीले जानकारी गराए ।


