जेठ २५ बैतडी । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यस अघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भए पछि बैतडीका दुई वटा पालिकाले श्रम स्वीकृति दिन थालेका हुन् ।
सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गते देखि लागु हुने गरी स्थानीय तहले नै रोजगार शाखा मार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनले बताए ।
पाटन नगरपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका वडा नंम्बर ६ का नवीन विक रहेका छन् । नगरपालिकामै श्रम स्वीकृति पाए पछि निकै सहजता भएको उनले बताए । बिना कुनै झन्झट कम खर्चमा घरदैलोबाटै काम भए पछि खुसी लागेको उनले बताए । यस अघि दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो ।


