र्चैत्र १० धनगढी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल सङ्क्रमित बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्क अनुसार चैत महिना सुरु भए यता मात्रै २४ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ ।
भारतका विभिन्न सहरहरुमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीले बताए । उनले ‘भारतका विभिन्न सहरमा कोरोना फैलिएको बताउदै, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको बताए । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएको बताउदै उनले भारतसँग सिमा जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको जानकारी गराए । नयाँ वर्ष नजिक आइरहेका बेला नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको बताउदै नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए ।
भारतमा सङ्क्रमण देखिएका सहरहरू दूरीका हिसाबले सुदूरपश्चिम प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको बताउदै उनले ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षण मार्फत परीक्षणको काम भइरहेको जानकारी गराए । सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेको बताउदै उनले यसले जोखिम कम गर्न सकिने बताए ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको पनि उनले जानकारी गराए । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्ष माथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीले जानकारी गराए । सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठ जनामा सङ्क्रमण भइसकेको उनले बताए । सङ्क्रमणकै कारण प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको जानकारी गराए । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वाश्थ्य निर्देशनालयले सबैलाई आग्रह समेत गरेको छ ।


